राहत शिक्षक नियुक्ति विवादमा मुछिए बेलडाँडीका शिक्षा शाखा प्रमुख जोशी, आफन्तलाई शिक्षक बनाउन चलखेल गरेको लाग्यो आरोप
महेन्द्रनगर । बेलडाँडी गाँउपालिका ५ मोहनपुर भुर्षास्थित गणेश माध्यमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुत्तिमा धाँधली भएको भन्दै प्रशिक्षाार्थीहरुले पुनः परीक्षाको माग गरेका छन् । परीक्षामा अनुत्तीर्ण परीक्षार्थीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द किशोर एस्केलाई माग पत्र बुझाएर पुनः परीक्षाका लागि दबाव दिएका छन् ।
राहत शिक्षक नियुक्तिका लागि भदौ ३० गते महेन्द्रनगरमा पहिलो पत्रको वस्तुगत परीक्षा लिइएको थियो । परीक्षामा सहभागी ८ जनामध्ये देबकी कुमारी जोशी उत्तीर्ण भएकी छन् । परीक्षाका लागि १२ जनाले आवेदन दिएका थिए ।
परीक्षामा जोशी मात्रै उत्तीर्ण भएपछि परीक्षार्थीहरु धाँधली गरिएको भन्दै विरोधमा देखिएका छन् । शिक्षक नियुक्ति विवादमा बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशी मुछिएका छन् ।
उनीमाथि आफन्तलाई उत्तीर्ण गराउन अन्य परीक्षार्थीलाई अनुत्तीर्ण गराएको आरोप लागेको छ । परीक्षामा उत्तीर्ण जोशी शिक्षा प्रमुख जोशीको आफन्त भएको परीक्षाहरु बताउँछन् ।
परीक्षार्थीहरुले ३० भदौँ बिहान ९ हुने भनिएको परीक्षा ११ः४५ देखि सुरु गर्दा नै चलखेल थालिएको आशंका गरेका छन । उनीहरुले शिक्षा प्रमुख जोशीले आफन्त ल्याउन विज्ञ समेत आफू अनुकूलका विज्ञ ल्याएको आरोप लगाएका छन् ।
विद्यालयले शिक्षक छनौटका लागि कृष्ण बहादुर कुँवर र दुर्गा देउवालाई विज्ञका रुपमा राखेको थियो । शिक्षा प्रमुख जोशीले विज्ञसित सेटिङ्ग गरी प्रश्न पत्र बनाएको उनीहरुको आरोप छ ।
परीक्षामा सहभागी देवीलाल जोशीले आफ्नो उत्तरपुस्तिका समेत रद्द गरेको बताए । ‘मेरो त कपि नै चेक भएन, ‘उनले भने, ‘यतिसम धाँधली सेटिङ्ग चलखेल हुँदा समेत कोही निकाय बोलेनन्।’ कुमारी भागरथी भट्टले आफ्ना मान्छेलाई उर्तिण गराउने उदेश्यले अन्यलाई अनेकन बहानाबाजी गराएर अनुत्तीर्ण गरेको बताईन ।
‘तोकिएको समयमा परीक्षा भएन, ‘उनले भनिन, ‘विद्यालयदेखि गाँउपालिका विनीको समेत मोलोमतो रह्यो ।’ कतै नाता कतै पार्टी र आफन्तका आधारमा षड्यन्त्रपुवर्क शिक्षक भर्ना गर्न खोजिएको भन्दै उनीहरुले छानबिनको माग अघि सारेका छन् ।
देवीलाल जोशी र भागरती भट्टले विद्यालय व्यवस्थापन समितिलाई पुनः परीक्षाका लागि निवेदन दिएका छन् । विद्यालयका प्रधानाध्यापक जनक थापाले परीक्षामा कुनै पनि किसिमका चलखेल नभएको बताए । उनले ८ उपस्थित प्रशिक्षार्थी मध्ये १ जनाले मात्रै ५० नम्बर ल्याएर र दोस्रो परिक्षामा ४० ल्याउनु पर्ने हुने बताए ।
‘अहिले रिजल्ट नै फाईनल भएको छैन, ‘उनले भने, ‘ केही अनुतिर्ण प्रशिक्षार्थीबाट बिरोध आयो ।’ बेलडाँडी गाँउपालिका शिक्षा शाखा प्रमुख एव विद्यालय निरीक्षक भानुभक्त जोशीले आफुले सेटिङ्ग गरेको प्रमाण ल्याए कार्बाही भोक्न तयार रहेको बताएका छन ।
परिक्षामा प्रश्न पत्र हस्तलिखित बनाएको, परिक्षामा गर्न मिल्ने र नमिल्ने बारेको कुनै पनि जानकारी नगराएको, निर्धारित समय भन्दा झण्डै ३ घण्टा ढिला गरि परिक्षा शुरू गरेको, परिक्षार्थिले छाडेका प्रश्न पत्रमा गलत उत्तर लगाएको, बदनियत पुर्वक परिक्षा गरेको लगायतका आरोप परिक्षार्थिले लगाउदै पुनः निष्पक्ष परीक्षा गरिनु गर्ने माग गरेका छन् ।
साभार : कञ्चनपुर खबर