

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । ४६ साँसद सहभागी प्रदेशसभा बैठकमा बुधबार भट्टले ३१ जनाको समर्थन पाएका छन् ।
उनीहरु सबै सत्तारुढ नेकपा र सत्ता साझेदार एमालेका साँसद हुन् । भट्टको विपक्षमा १५ मत खसेका छन् ।

प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिएका छन् ।
कांग्रेस १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका तीन सांसद भने बैठकमा सहभागी थिएनन् ।
नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति भएपछि अल्पमतमा परेका कांग्रेसका कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
