कञ्चनपुर ३ क मा एमालेको कुनै दलसित तालमेल नहुने उप सचिव चन्दको भनाई, भन्छन् –जबरजस्ती गर्न खोजिए दुर्भाग्य हुनेछ
महेन्द्रनगर । नेकपा(एमाले) कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले कञ्चनपुर ३ (क) मा एमालेले अन्य दलसंग चुनावी तालमेल गर्ने भनेर फैलिएको हल्ला गलत भएको बताएका छन् । मिडिया मञ्च नेपालले सोमबार आयोजना गरेको दशैं तिहारको शुभ कामना आदानप्रदान कार्यक्रममा उनले अन्य दलसित तालमेल हुने भनेर झुठो प्रचार गरिएको बताएका हुन् ।
‘केही दलका नेता एमालेले आफूलाई सहयोग गरेको छ भनेर प्रचार गरि रहेका छन्,त्यो झुठो हो’ उनले भने,‘१७÷१८ गते टुङ्गो लाग्छ, ३ क मा कुनै पनि हालतमा तालमेल हुँदैन ।’
एमाले उप सचिव चन्दले ३ क मा जबरजस्ती चुनावी तालमेल गरिए त्यो दुर्भाग्यपूर्ण हुने बताए । ‘३ मा एमालेले ५ दलीय मात्रै होइन, १५ दलीय गठबन्धनलाई पराजित गछौै, कसैसित एलायन्स गरी गुमाउन चाहँदैनौ’ उनले भने,‘यदि कसैले त्यस्तो दुस्साहस गरे त्यो दुर्भाग्य हुनेछ ।’
कञ्चनपुर क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेलका हल्ला बाहिर आएका छन् । राप्रपाका नेता धर्मराज जोशीले एमाले नेतासित छलफल गरी आफूलाई टिकटका लागि एकल सिफारिश गरेका छन् । काठमाडौंबाट फर्केपछि जोशीले आन्तरिक रुपमा प्रचार सुरु गरि सकेका छन् ।
एमाले उप सचिव चन्द सहित ८ जना ३ क बाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिश गरिएका छन् । उप सचिव चन्द यस पटक कुनै पनि हालतमा पछि नहट्ने अडानमा छन् ।
अघिल्लो निर्वाचनमा उनी ३ क बाट प्रदेश सभा सदस्यको टिकट नपाएपछि बागी उम्मेदवार भएका थिए । पछि पार्टीको निर्देशनमा उनी पछि हटेका थिए । तत्कालिन वाम गठबन्धनले प्रकाश रावललाई उम्मेदवार बनाएको थियो ।