ghar sansar

दोधारा चाँदनीमा सत्तारुढ गठबन्धन र एमालेबीच कडा टक्कर हुने सम्भावना, स्वतन्त्र समूहले समस्या पार्ने आँकलन

महेन्द्रनगर । दोधारा चाँदनीमा सत्तारुढ गठबन्धन र नेकपा एमाले दुबैको अग्रतालाई स्वतन्त्र समूहले असर पार्ने आँकलन गर्न थालिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्तारुढ गठबन्धन र एमाले दुबैले दोधारा चाँदनीबाट अग्रता लिएर चुनाव जित्ने दाउ बनाएका छन् ।

अघिल्लो निर्वाचनमा दोधारा चाँदनीमा थोरै मतले अग्रता लिएपछि काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखक एमालेका निवर्तमान साँसद डा.दिपक प्रसाद भट्टसित पराजित भएका थिए । एमालेका निवर्तमान साँसद भट्ट दोधारा चाँदनीमा १५० मतले मात्रै पछाडि परेका थिए ।

दोधारा चाँदनीमा एमालेको ५ सय मतले पछाडि पर्ने र काँग्रेसले ३५ सय मतले अग्रता लिने लक्ष्य थियो । अहिल्लो निर्वाचनमा आएका नतिजामा सुधार गरी अग्रतालाई आफ्नो पक्षमा पार्न दुबै दलले सक्रियता देखाएका छन् ।

‘यस क्षेत्रमा सत्तारुढ गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ’ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पूर्व साँसद इन्द्र बहादुर खत्रीले भने,‘यसमा स्वतन्त्र आएपछि ती दुबैको मत अग्रतालाई असर पर्न सक्छ ।’

स्थानीय तह निर्वाचनमा स्ततन्त्रबाट उम्मेदवारी दिएर भीम कुमालले दुई हजार बढी मत ल्याएका छन् । उनले मेयर उप मेयर सहित सबै वडामा उम्मेदवार लडाएका थिए । कुमाल प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

पूर्व साँसद खत्रीले दोधारा चाँदनीमा विगतझैं सत्तारुढ गठबन्धन र एमालेलाई एकलौटी मत आउने सम्भावना भने नभएको बताए । ‘मैले २०४३ मा राष्ट्रिय पञ्चालयत सदस्य लड्दा यताको ७५ प्रतिशत मत पाएको थियो, अहिले अब यस्तो हुने सम्भावना छैन’ उनले भने,‘स्वतन्त्रले असर पारेन भने यी दुईमा एक पक्ष अग्रता लिएर अघि जान्छ ।’

स्थानीय तह निर्वाचनको नतिजालाई कायम राख्न सके र राप्रपासित हुने चुनावी तालमेलले एमालेलाई थप फाइदा हुने पूर्व साँसद खत्रीले बताए । ‘एमालेका जुनसुकै उम्मेदवार भए पनि अलिकित तलमाथि होला, स्थानीय तह निर्वाचनको नतिजा कायम राख्न सक्यो भने त त्यसै अघि जान्छ, त्यस्तै नतिजा त नआउला’ उनले भने,‘तर राप्रपासित तालमेलले फाइदा हुन सक्छ ।’

सत्तारुढ गठबन्धनबाट कञ्चनपुर ३ मा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक उम्मेदवार छन् । एमालेबाट निवर्तमान साँसद डा. दिपक प्रसाद भट्ट र निरुदेवी पाल सिफारिश गरिएका छन् ।

निर्वाचन क्षेत्र नं. ३ ख मा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । सत्तारुढ गठबन्धनबाट काँग्रेसका बेल बहादुर राना र नेकपा माओवादी केन्द्रका नेता मान बहादुर सुनार दाबेदार छन् ।

एमाले र राप्रपाबीच चुनावी तालमेल भए कञ्चनपुर ३ क मा राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी उम्मेदवार हुने भएका छन् । त्यस अनुसार एमालेले जोशीलाई सघाउने छ भने राप्रपाले प्रतिनिधि सभा र प्रदेश ख मा एमालेलाई सघाउनु पर्नेछ ।

पूर्व साँसद खत्री भने ३ ख सत्तारुढ गठबन्धनबाट राना र सुनार जो उम्मेदवार भए पनि धेरै मत फरक नपर्ने बताए । ‘दुबै जनाको उस्तै हो, खासै त्यति फरक पर्दैन’ उनले भने,‘वहाँहरु दुबै जना यस क्षेत्रको भएर पनि क्षेत्रीय रुपमा मत पाउने सम्भावना छैन ।’

सत्तारुढ गठबन्धनले दोधारा चाँदनीबाट उम्मेदवार बनाएर क्षेत्रीय रुपमा मत तान्ने रणनीति बनाएर उम्मेदवार बनाउन खोजेको छ । पूर्व साँसद खत्री सत्तारुढ गठबन्धनको अपेक्षा अनुसार उम्मेदवार बनाएर मात्रै मत आउन सम्भावना नभएको बताउँछन् ।

‘सत्तारुढ गठबन्धनलाई यताको उम्मेदवार बनाएपछि मत आउने आशा होला, त्यो सम्भव छैन’ उनले भने,‘अहिले दोधारा चाँदनी पहिला जस्तो छैन, धेरै फरिएको छ ।’

एमालेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार दुबै भीमदत्त नगरपालिकाका भएकाले सत्तारुढ गठबन्धन दोधारा चाँदनीका उम्मेदवार बनाउन लागेको हो । अघिल्लो निर्वाचनमा काँग्रेसका राना माओवादीका सुनारसित पराजित भएका थिए ।

राप्रपा पृष्ठभूमिका दुबै काँग्रेसमा राजनीति गरी अहिले सुनार माओवादी केन्द्र पुगेका छन् । उनी अघिल्लो निर्वाचनमा एमालेको सहयोगमा साँसद भएका हुन् । अहिले उनी सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री छन् ।

पूर्व साँसद खत्री काँग्रेसका उम्मेदवार लेखक, एमाले उम्मेदवारका लागि सिफारिश साँसद भट्ट र निरुदेवी पाल सबैप्रति दोधारा चाँदनीका वासिन्दा सकारात्मक भएको बताउँछन् ।

दुई दशक बढी शासन सत्ता बसेर पनि काँग्रेस जन अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो लेखकसित रहेको उनी बताउँन् ।

‘२०५६ मा जितेपछि २०७४ सम्म वहाँ कुनै न कुनै रुपमा सत्ता रहनु भयो, यत्रो अवधिमा चाहे जति काम गर्न सकेन भन्ने बुझाई हो’ उनले भने,‘काम पन िगरेका छन्, चार लेन पुलका लागि पहल गरेको हो, मलेरिया नालामा पुल बनेको छ, अरु पनि केही काम भएका होलान् ।’

काँग्रेस उम्मेदवारलाई पनि दोधारा चाँदनीमा अग्रताका लागि ढुक्क हुने अवस्था नभएको उनको भनाई छ । ‘लेखकजीलाई पनि राम्रो नै भन्छन्, रमेशजीले पनि संघर्ष नै गर्नु पर्ने हो,’ उनले भने,‘त्यति सजिलो वहाँलाई पनि छैन ।’

एमालेका निवर्तमान साँसद डा. भट्टले सुख्खा बन्दरगाह निर्माण, महाकाली पुल, अस्पताल लगायतका संरचना बनाउन भूमिका खेले पनि चर्चामा आउन नसकेको उनले बताए । ‘वहाँ भलादिमी हो, बौद्धिक मान्छे हो, तर वहाँले चर्चामा आउनु सक्नु भएन’ उनले भने ।

पूर्व साँसद भट्टले पाँच वर्षे कार्यकालमा सुख्खा बन्दरगाह सञ्चालन गरी अहिले अर्को सरकारलाई मौका दिन नहुने उनको भनाई छ । ‘ठाउँको विवाद त हल गरियो, अहिले अर्को सरकारलाई मौका दिनु नपर्ने हो’ उनले भने ।

एमालेबाट प्रतिनिधि सभा सदस्यमा सिफारिश अर्का उम्मेदवार निरुदेवी पाल नयाँ अनुहार भएकाले मतदाता आकर्षित हुन सक्ने उनले बताए । ‘यस क्षेत्रबाट पञ्चायतदेखि अहिलेसम्म पुरुष मात्रै उम्मेदवार भएर साँसद भए, यस पटक महिलालाई पनि मौका दिनु पर्छ भन्ने पनि हुन सक्छ’ उनले भने ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ को जितमा दोधारा चाँदनी निर्णायक हुने गर्छ । सत्तारुढ गठबन्धन र एमाले दुबैले चुनावी रणनीतिमा दोधारा चाँदनीलाई प्राथमिकता दिएका छन् । एमालेले चुनाव प्रचारका लागि सम्पर्क कार्यालय खोलेर आन्तरिक तयारी अघि बढाई सकेको छ ।

Himal dental
सम्बन्धित
Loading...