महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा कञ्चनपुर क्षेत्र नं. ३ क नेकपा माओवादी केन्द्रलाई भाग परेपछि नेकपा एकीकृत समाजवादीका नेता लोकबिक्रम थापाले पार्टी छाडेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी समाजवादीका सबै जिम्मेवारी सहित पार्टी सदस्यता त्यागेको घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनमा समाजवादीलाई दिने गरी छलफल गरिएको कञ्चनपुर ३ क अन्तिममा माओवादीलाई दिएपछि कञ्चनपुर गठबन्ध भत्किएको हो । समाजवादीलाई गठबधनबाट बाहिर राखेर उम्मेदवार हुने अवस्था नआएपछि थापाले पार्टी छाडेका छन् ।
कञ्चनपुर ३ क मा समाजादीका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल र थापा उम्मेदवारका आकाँक्षी थिए । सत्तारुढ काँग्रेस र माओवादीबीच माओवादीलाई दिने सहमति भएपछि समाजवादी बाहिरिएको हो ।
समाजवादीका नेता थापाले समाजवादी केही व्यक्तिको व्यवस्थापनका लागि मात्रै बनेको पार्टी देखिएकाले आफूले सदस्यता छाडेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनी एमाले छाडेर समाजवादी गएका थिए ।