महेन्द्रागर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारमध्ये आधा स्वतन्त्र उम्मेदवार भएका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका ३२ उम्मेदवारमध्ये १६ जना स्वतन्त्र छन् । यी उम्मेदवारमा पनि प्रदेश सभा क मा सबैभन्दा बढी १० जना स्वतन्त्र छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार सबैभन्दा बढी प्रदेश सभा सदस्य क मा १४ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार रमेश लेखक विरुद्ध काँग्रेसका नेताले बागी दिएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह र शारदा चन्दले बागी दिएका हुन् । सिह र चन्द दुबै काँग्रेसको १४ औं महाधिवेशनबाट प्रतिनिधि भएका हुन् । उनीहरुमध्ये चन्दले काँग्रेस छाडेर उम्मेदवारी दिएकी छन् ।
सिहले काँग्रेस नछाडेर बागी भएका छन् । काँग्रेसका नेता सुशिला साउँद पनि बागी उम्मेदवार भएका छन् । काँग्रेसका नेता दुर्गादत्त पाण्डेयले हाम्रो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
काँग्रेसबाट लेखक र प्रेम बहादुर विष्टको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएको थियो । लेखकले टिकट पाएपछि विष्ट पनि असन्तुष्ट भएका छन् । प्रतिनिधि सभा ३ क मा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार भएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशनमा पराजित कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीदेखि काँग्रेसबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष राम बहादुर जप्रेलसम्म बागी उम्मेदवारी दिएका छन् । काँग्रेसका गोपाल सिह बुडपालले पनि बागी उम्मेदवारी दिएका छन् । उनी पनि कञ्चनपुर उद्योग बाणिज्य संघका सदस्य हुन् ।
सत्तारुढ गठबन्धनबाट यस क्षेत्रमा माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार भएका छन् । एमाले राप्रपा चुनावी तालमेलबाट धर्मराज जोशी चुनावी मैदानमा छन् ।
एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द, काँग्रेसका गोपाल सिह बुडपाल, तेज बहादुर लुहार, दिवान आग्री, पदम सिह खत्री, पिताम्बर जोशी, महादेब भट्ट, राम बहादुर जप्रेल, लोकबिक्रम थापा र सुरेश दमाई स्वतन्त्र उम्मेदवार भएका छन् ।
उनीहरुमा बुडपाल, जोशी, भट्ट र जप्रेल काँग्रेसका कार्यकर्ता हुन् । थापा नेकपा एकीकृत समाजवादीका नेता हुन् । समाजादीबाट प्रकाश रावल र मौलिक जरो किलोबाट मोहन सिह धामीले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा ख मा सत्तारुढ गठबन्धनबाट बेल बहादुर राना सहित एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, काँग्रेस विपीका धन बहादुर शाही र नेपाल मजदुर किसान पार्टीका लक्ष्मण रोकाया सहित स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
शाही काँग्रेस छाडेर विपी काँग्रेसका उम्मेदवार भएका छन् । माओवादी छाडेर दोधारा चाँदनीको मेयरमा स्ततन्त्र उम्मेदवार भएका उनी अहिले प्रदेश सभा सदस्यमा उम्मेदवार भएका छन् ।