
कञ्चनपुर २ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा, प्रदेश सभामा दुई संविधान सभा सदस्य उम्मेदवार, अर्का सभासद्को खोसियो टिकट

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धन र एमालेबाट पुरानै प्रतिस्पर्धी फेरि चुनावी मैदानमा होमिएका छन् । सत्तारुढ गठबन्धनबाट काँग्रेसका एनपी साउँद र एमालेबाट निवर्तमान साँसद नर बहादुर धामी प्रतिस्पर्धामा देखिएका हुन् । साउँद र धामी २०७४ पछि एक अर्काका प्रतिस्पर्धी भएका छन् ।
उनीहरु दुबै जना आ–आफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् । एमालेका निवर्तमान साँसद धामीले अघिल्लो निर्वाचनमा साउँदलाई ८ हजार बढी मत अन्तरले हराएका थिए । त्यस अघि साउँदले २०७० मा एमालेका तारालामा तामाङ्गलाई पराजित गरेका थिए । तत्कालिन निर्वाचन क्षेत्र नं. ३ बाट लडेका धामी काँग्रेसका बहादुर सिह थापासित पराजित भएका थिए । थापा निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् ।

धामी तेस्रो चुनावी मैदानमा गएका छन् । काँग्रेसका साउँद बहुदल आएपछि २०४८ को आम निर्वाचन बाहेक सबै चुनाव लडि सकेका छन् । उनी अहिले सातौ पटक चुनावी मैदानमा गएका हुन् । उनी २०५१, २०५६, २०६४, २०७० र २०७४ मा काँग्रेसबाट चुनाव लडि सकेका छन् । ती चुनावमा उनले दुई पटक मात्रै जितेका छन् । अन्य सबैमा पराजित भएका छन् ।
यस पटक साउँदलाई रोक्न काँग्रेस कञ्चनपुरका निवर्तमान जिल्ला सभापति हरि प्रसाद बोहरा र प्रेम बलायर आकाँक्षी भएर टिकटका लागि सिफारिश भएका थिए । साउँदलाई सर्वसम्मत हुन नदिएर अन्य दुई जनाको पनि नाम सिफारिश गरिएका थिए । प्रधानमन्त्री शेर बहादुर देउवालले साउँदलाई नै यस पटक टिकट दिएपछि अन्य दुई नेता पछाडि परेका छन् ।
देउवाले आफ्ना विश्वासपात्र साउँदलाई २०५१ देखि बोकेका छन् । देउवाले २०५१ मा कञ्चनपुर क्षेत्र नं. ३ मा चुनाव लडाएका उनी काँग्रेसका बागी मान बहादुर सुनार भन्दा पछाडि परेपछि अन्यत्र क्षेत्रबाट चुनाव लड्दै आएका छन् । साउँदले कञ्चनपुरका सबै निर्वाचन क्षेत्रबाट चुनाव लडि सकेका छन् ।
एमालेका निवर्तमान साउँद धामीसित पनि राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिह सिफारिश गरिएका थिए । एमालेले सिहलाई प्रदेश सभा सदस्य उम्मेदवार बनाएर धामीलाई टिकट दिएको हो । उनीहरु दुबै जना एमालेमा विद्यार्थी राजनीतिबाट आएका नेता हुन् ।
प्रदेश सभामा सिहलाई उम्मेदवारी बनाएपछि एमालेका नेता जयराज पाण्डेय र टेक बहादुर हमालले पार्टी छाडेका छन् । हमालले प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. २ क मा सत्तारुढ गठबन्धनमा पनि टिकट विवाद भएपछि नेता कार्यकर्ता असन्तुष्ट भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य देबीलाल चौधरीले पाएको टिकट अर्का नेता ओमबिक्रम भाट सरलले खोसेका छन् । टिकट खोसिएपछि चौधरी असन्तुष्ट भएका छन् ।
एमालेबाट प्रदेश सभा सदस्य ख मा एमाले केन्द्रीय सदस्य कृपाराम राना उम्मेदवार भएका छन् । संविधान सभा सदस्य उनी एमालेबाट सर्वसम्मत सिफारिश गरिएका हुन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. २ बाट २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यमा १० र प्रदेश सभा सदस्यमा २० जना उम्मेदवार भएका छन् ।
प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अशोक बहादुर सिंह, लोकतान्त्रीक समाजवादी पार्टी नेपालका तर्फबाट लोकराज भट्ट उम्मेदवार भएका छन् ।
काँग्रेस छाडेका जगदिश अवस्थी स्वतन्त्र उम्मेदवार भएका छन् । काँग्रेस (विपी) बाट बीर बहादुर बोहरा, नेपाल मजदुर किसान पार्टीबाट सीताराम राना, जनमत पार्टीबाट प्रेमसिंह बडाल,राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोशी र जनता प्रगतिशील पार्टी नेपालबाट विद्यादेव जोशीले उम्मेदवारी दिएका छन् ।
प्रदेश २ क मा १० जना र २ ख मा १० जना छन् । क्षेत्र नम्बर २(क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रकान्त भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टीका जगन्नाथ केसी, नेपाल मजदुर किसान पार्टीका भरतबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् । लौरो चुनाव चिन्हका राजुराम सार्की भुल, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभामा २(ख) मा काँग्रेसका बहादुरसिंह थापा, एमालेका कृपाराम राना, राप्रपा चक्रदेव जोशी, नेमकिपाका संजित सिंह रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीका लालबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका जितेन्द्र चौधरी, लोसपाका लक्ष्मी देवी डगौरा, लौरो चुनाव चिन्हका जमान सिं कार्की, काँगेस ९विपी० का नारायणदत्त बोहरा, स्वतन्त्र उम्मेदवार जोगराज भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, स्वतन्त्र उम्मेदवार गिरीराज पाण्डेय, जितबहादुर करिया कंग्रहवा र टेकबहादुर हमालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
