ghar sansar

दोधारा चाँदनीका हस्तीले समाते एमाले हात

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व साँसद इन्द्र बहादुर खत्री दोधारा चाँदनी नगरपालिकामा एमालेको कार्यकर्ता भेलामा सहभागी भएका छन् । कार्यकर्ता भेलामा सहभागी खत्री सहित एमाले नेताले हात मिलाएर खिचिएका सामूहिक तस्बिर बाहिर आएका छन् ।

दोधारा चाँदनीमा राप्रपाका हस्ती मानिने उनले कार्यक्रममा चुनाव जित्न सबै सक्रिय रुपमा लाग्नु आव्हान गरेका छन् । ‘शारीरिक रुपमा म सबै चुनावी कार्यक्रममा सहभागी हुन नसकुला, तालमेल विरुद्ध कसैले पनि काम गर्दैन भन्नेमा विश्वस्त छु’ उनले भने,‘अब सबै चुनावमा जुटौ र जिताऔ ।’

कञ्चनपुुर क्षेत्र नं. ३ मा एमाले राप्रपाबीच चुनावी तालमेल भएपछि उनी एमाले भेलामा सहभागी भएका छन् । भेलामा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चिनी गिरी, टोप बहादुर खत्री, जिल्ला सल्लाहकार परिषद् संयोजक हिरालाल थापाा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगायतका नेता सहभागी भएका छन् ।

कञ्चनपुर एक निर्वाचन क्षेत्र हुँदा २०४२ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका उनी दोधारा चाँदनीमा राजनीतिक हस्तीका रुपमा परिचित छन् । ७४ वर्षका उनी पाँच दशकदेखि राजनीतिमा सक्रिय छन् ।

२६ वर्षमा वडा सदस्य चुनाव जितेर दुई कार्यकाल तत्कालिन चाँदनी गाविसको प्रधान पञ्च भएका उनी बहुदल पुनःस्थापनापछि २०५६ सम्म चुनाव लडेका छन् । २०४८ र २०५६ मा चुनाव लडेका उनी दोस्रो भएका थिए ।

खत्री २०४८ को निर्वाचनमा तत्कालिन कञ्चनपुर २ बाट दोस्रो र त्यसपछि २०५६ को निर्वाचनमा क्षेत्र नं. ३ बाट दोस्रो भएका थिए । त्यसपछि उनी २०७० मा संविधान सभा सदस्य चुनाव लड्न खोजे पनि उनी अन्तिममा पछि हटेका थिए ।

२०४८ अघि भने उनले तत्कालिन चाँदनी गाउँ पञ्चालतको सदस्य, वडा अध्यक्ष र दुई पटक प्रधानपञ्च जितेका छन् । २०४२ मा राष्ट्रिय पञ्चायत सदस्य जितेका उनले लबरु रानालाई हराएका थिए । दोधारा चाँदनी क्षेत्रबाट उनले ७५ प्रतिशत मत पाएका थिए ।

खत्री दोधारा चाँदनीको विकासका भूमिका खेल्ने नेताका रुपमा परिचित छन् । महाकाली नदीमा तटबन्ध निर्माण, झोलुङ्गे पुल निर्माणको पहल, बाटाघाटा निर्माण, बिजुली बत्ती पुगाउने कार्यको श्रेय नेता खत्रीले पाएका छन् ।

खत्रीले तत्कालिन राजा स्वर्गिय विरेन्द्र बिक्रम शाहलाई दोधारा चाँदनीसम्म ल्याएका थिए । राजा विरेन्द्र आएपछि मात्रै महाकाली नदीको तटबन्धको गुरु योजना बनेर काम अघि बढेको उनी बताउँछन् । राष्ट्रिय पञ्चायत सदस्य जितेपछि राजासितको भेटमा दोधारा चाँदनीको समस्या सुनाएपछि राजा आउन तयार भएका थिए ।

राजाले दोधारा चाँदनीको भ्रमण गरेपछि महाकाली नदीमा तटबन्धनका लागि १३ करोडको गुरु योजना बनाएको थियो । महाकाली नदीमा तटबन्ध बनेपछि वासिन्दाले सुरक्षित रुपमा बस्न थालेको उनको भनाई छ । ‘त्यस अघिसम्म बर्खामा बस्न नसकिने अवस्था थियो, पानीले पूरै जलमग्न हुन्थ्यो’ उनले भने ।

महाकाली नदीमा तटबन्ध, विजुली जडान लगायतका एजेण्डालाई लिएर चुनाव लडेका उनी तत्कालिन चाँदनी गाउँ पञ्चायतको प्रधानपञ्च छाडेर चुनाव लडेका हुन् । ‘त्यो बेला विचारको कुरा थिएन, मलाई सबैले मत हाले, पूर्विया पश्चिमा केही भनेन’ उनले भने,‘त्यसो हेरेको म सल्यानी भोट पाएर कसरी जित्थे र, सबैले दिए पो जिते ।’

भारतीय सेनामा कार्यरत बुवाले भीमदत्त नगरपालिका १७ बाँसखेडामा बसोबास गरी २०२५ मा दोधारा चाँदनी बसाई सराई गरेका हुन् । भारतीय सेनामा कार्यरत उनका बुवा गाउँका भलमन्सा थिए । दोधारा चाँदनी बस्न थालेपछि खत्री पञ्चायत राजनीतिमा लागेर वडा सदस्य जितेर साँसदसम्म भएका हुन् ।

राष्ट्रिय पञ्चायत सदस्य हुँदा उनी वन सुदृढीकरण उच्च स्तरीय आयोगको अध्यक्ष भएका थिए । आयोगको अध्यक्ष राज्य मन्त्री सरह हुने व्यवस्था थियो । आयोगको अध्यक्ष हुँदा उनले वन फँडानी रोक्ने, वृक्षारोपण गर्ने लगायतका वन संरक्षण कार्यक्रमलाई देशभरि सञ्चालन गरेका थिए ।

खत्री पञ्चायत सदस्य भएका बेलामा धनगढीदेखि बेलौरीसम्मको विद्युतीकरण गरिएको थियो । कलुवापुर श्रीपुर सडक र महकाली सिँचाई आयोजनाको तेस्रो चरणको काम खत्रीले अघि बढाएका थिए । अहिलेसम्म ती दुबै काम अधुरा छन् । कलुवापुर सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरबको योजना राखेको छ ।

नेता खत्रीको प्रभावका कारण शीर्ष दलका नेता उनका घरसम्म पुगेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड खत्रीको घर पुगि सकेका छन् । बहुदल पुनःस्थापना अघि उनले राजालाई नै दोधारा चाँदनी ल्याएका थिए ।

दोधारा चाँदनीको विकासका लागि उनले आफ्नो राजनीतिक जीवन समेत दाउमा राखेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाबाट दोधारा चाँदनीको कायापलट हुने सपना देखेर उनी २०६४ मा उनलाई जिताउन सक्रिय भएर लागेका थिए । प्रधानमन्त्री देउवाले चुनावी वाचा अनुसार विकासका लागि वास्ता नगरेपछि उनले साथ छाडेका थिए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित प्रधानमन्त्री भई सक्नु भएको व्यक्तित्वले यस क्षेत्रमा जितेपछि कायापलट हुने सपना देखेर जिताउन लागे, महाकाली नदीमा पक्की तटबन्ध, पुल, सिँचाई, सबै कुरा पूरा हुने सपना देखे’ उनले भने,‘जितेपछि भने कायापलट भएन, बरु यस क्षेत्रबाट राजीनामा दिए, मेरो स्वार्थ विकासको थियो, त्यो नै पूरा नभएपछि बस्न ठिक थिएन, बाहिर आए ।’

प्रधानमन्त्री देउवाले जितेपछि आफूले भेट गरी आफ्नो सपना सुनाउँदा उनले सरकार र पार्टी नेतृत्वमा नभएकाले गर्न नसकेको जवाफ दिएका थिए । एमालेसित चुनावी तालमेल भएपछि खत्री एमालेका उम्मेदवारलाई जिताउन यस पटक चुनावी मैदानमा होमिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...