ghar sansar

बैतडीमा सत्ता गठबन्धनको असन्तुष्टि थामथुमको सन्देश दिन पत्रकार सम्मेलन, चुनाव जित्ने दावी

dirghayu ad

महेन्द्रनगर । सत्ता गठबन्धनले बैतडीमा चुनाव जित्ने दाबी गरेको छ । लोकतान्त्रिक –बाम गठबन्धनले गरेका निर्णयका बारेमा जानकारी दिनका लागि गोठलापानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लोकतान्त्रिक –बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर)ले गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे ।

लोकतान्त्रिक व्यवस्थामाथि नै एमाले अध्यक्ष केपी ओलीले प्रहार गरेकाले व्यवस्था र लोकतन्त्र जोगाउन गठबन्धन भएकाले गठबन्धनका पक्षमा मतदान गर्न उनले आग्रह समेत गरेका छन् ।

ratnam malkhad

लामो त्याग र तपस्याबाट प्राप्त उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक बाम गठबन्धन भएको प्रष्ट पार्दै उनले जनता परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट बैतडी क्षेत्र नं.(क)का उम्मेदवार बिरबहादुर बिष्टले देशमा संकट उत्पन्न भएको समयमा राजनीतिक दलहरुबीच गठबन्धन हुने र अहिले व्यवस्था र संविधान जोगाउन गठबन्धन गरिएको प्रष्ट पारे ।

उनले आफू पार्टीको आधिकारिक उम्मेदवार भएकाले नेपाली कांग्रेसका नेता, कार्यकर्ता अलमलमा नपर्ने बताए । यस्तै बैतडी क्षेत्र नं. (ख) का उम्मेदवार शिवराज भट्टले आफू जनताको सेवा गर्न चुनावी मैदानमा होमिएको बताए । पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गर्दै राजनीतिमा आएकाले नागरिकले आफूलाई मत दिने उनले बताए ।

पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारहरुले अहिले देशको संविधानको रक्षा र प्रणालीको रक्षाका लागि गठबन्धनका पक्षमा मतदान गर्नुपर्नेमा जोड दिएका छन् ।

देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र संघीय लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन आफूहरुको उम्मेदवारी रहेको गठबन्धनका उम्मेदवारहरुले बताएका छन् । पत्रकार सम्मेलनमा गठबन्धनको बैठकले गरेका निर्णय सुनाउँदै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले गठबन्धनलाई जिताउन नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दको संयोजकत्वमा मूल प्रचार–प्रसार समिति गठन गरिएको बताए ।

यस्तै सभापति चन्दकै संयोजकत्वमा ९ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको समेत उनले बताए । यस्तै प्रदेश सभा क्षेत्रीय प्रचारप्रसार समिति गठन गरिएको समेत भण्डारीले बताए । लोकतान्त्रिक बाम गठबन्धनले क्षेत्र नं.(क)को पाटन र क्षेत्र नं. (ख)को देहीमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गर्ने र गठबन्धनका उम्मेदवार विरुद्ध लाग्ने नेता कार्यकर्ताहरुलाई कारवाही गर्ने निर्णय समेत भएको भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले गठबन्धनका पक्षमा सिंगो पार्टी एक भएर लागेको दाबी गरे । गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीले सर्कुलर गरिसकेकाले सबैले पार्टीको निर्णय मान्ने उनको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...