
सुदूरपश्चिमका अर्थमन्त्री रावलले थाले बेदकोट ८ बाट चुनावी प्रचार, भन्छन्– पाँच वर्षे कार्यकालमा थालनी गरिएका काम पूरा गर्न फेरि जनतामा गएको छु
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य उम्मेदवार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल चुनावी प्रचारमा निस्किएका छन् । उनले बेदकोट नगरपालिका ८ बाट चुनावी घरदैलो सुरु गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीबाट चुनावी मैदानमा आएका छन् ।
अघिल्लो निर्वाचनबाट एमालेबाट जितेका उनी यस पटक समाजवादीबाट उम्मेदवार भएका छन् । नेकपा विभाजनपछि एमाले छाडेर उनी समाजवादी गएका हुन् । सत्ता गठबन्धनमा उम्मेदवारका रुपमा प्रचार गरिएका उनी अन्तिममा गठबन्धन उम्मेदवार नभएर समाजवादीका उम्मेदवार भएका हुन् ।

‘हामी चुनावमा होमि सकेका छौ, आज बेदकोट नगरपालिका ८ बाट घरदैलो सुरु गरिएको छ’ समाजवादीको निर्वाचन परिचालन मूल समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अब यस क्षेत्रका सबै वडामा प्रचारप्रसार गर्छौ ।’
रावल समाजवादीका केन्द्रीय सदस्य र कञ्चनपुर सह इन्चार्ज हुन् । उनले आफ्नो पाँच वर्ष कार्यकालमा थालनी गरिएका अपूरा कार्य पूरा गर्ने लक्ष्य लिएर चुनावी मैदानमा आएको बताए । ‘मैले पाँच वर्षे कार्यकालमा केही काम सुरु गरेको छ, जनताले केही न केही फरक चाहेकै छन्’ उनले भने,‘पाँच वर्षे कार्यकालमा अघि सारिएका कामलाई पूरा गर्न नै म फेरि जनतामा आएको छु’ उनले भने,‘जनताले मलाई फेरि विश्वास गरी जिताउनेमा आशावादी छु ।’
पत्रकार सम्मेलन मन्त्री रावलले आफूले पाँच वर्षे कार्यकालमा गरिएका कामबारे जानकारी गराए । उनले आफ्नो क्षेत्रमा कृषि, सिँचाई, तटबन्ध, विद्यालय, स्वास्थ्य, खेलकूद लगायतका सबै क्षेत्रमा कार्य गरिएको उल्लेख गरे ।
मन्त्री रावलले घाँडीघाँच क्षेत्रमा सिँचाई सुविधाको व्यवस्था गरेको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण गर्ने कार्य पनि अघि बढाएको बताए । मन्त्री रावलले मझगाउँ विमानस्थल पुनः सञ्चालन कार्य, महाकाकाली नदीमा चार लेन पुल निर्माण, सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण, गेटा मेडिकल कलेज सञ्चालनका लागि आफूले पहल गरेको बताए ।
महाकाली प्रादेशिक अस्पातल सुधारमा पनि आफूले भूमिका खेलेको मन्त्री रावलको भनाई थियो । २०७४ को निर्वाचनपछि अस्पताल सुधार भएको उनले उल्लेख गरे । सुदूरपश्चिम प्रदेश सरकारले जलविद्युत आयोजना सञ्चालन, महाकाली कोरिडो निर्माण लगायतका ठूला आयोजना निर्माण कार्यमा पनि सहयोगी भूमिका निर्वाह गरिएको उनले बताए ।
सत्तागठबन्धनमा अन्तिमसम्म दुई प्रदेशमा समाजवादीलाई दिने सहमति गरी अन्तिममा बाहिर राखिएको मन्त्री रावलले असन्तुष्टि व्यक्त गरे । ‘३ क र ख मा हाम्रो दावी थियो, अन्तिमसम्म निश्चित पनि थियो’ उनले भने,‘यस्तो भएपछि सबै नेताका बिचमा छलफल गरी मित्रवत प्रतिस्पर्धा गर्ने कुरामा सहमति भएको छ ।’
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिवह हरक सिह धामीले सत्ता गठबन्धनका उम्मेदवारसित कञ्चनपुरका सबै निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गरिने बताए । ‘सबै क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुन्छ, त्यसैमा अझै व्यवस्थित बाँकी छ’ उनले भने ।
पत्रकार सम्मेलनमा समाजवादीका उप सचिव राजेन्द्र पाण्डेय, निर्वाचन मूल परिचालन समितिका संयोजक गणेश सिह धामी, भीमदत्त नगर अध्यक्ष मदन सेराला लगायतका नेताहरु सहभागी भएका छन् ।
