महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमाले विभाजन गरेर छुट्टै पार्टी नेकपा एकीकृत समाजवादी (एस) खोलेका अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेता, कार्यकर्तामाथि कारवाही थालेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरा जिल्लामा शेरबहादुर देउवालाई जोगाउन एस पार्टीले आफ्नै नेता, कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएको छ । एसले डडेल्धुराको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र (२) मा स्वतन्त्र उम्मेदवारी दिएक केन्द्रीय कमिटी सदस्य डा.ताराप्रसाद जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी त्याग्न निर्देशन दिएको छ । तर जोशी कुनै पनि हालतमा उम्मेदवारी नछाड्ने र चुनाव लडेरै छाड्ने मनस्थितिमा छन् ।
एसका महासचिव डा. बेदुराम भुसालले उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उमेदवारलाई समर्थन गर्न जोशीलाई निर्देशन दिएका छन् । पार्टीले डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष कविन्द्र विष्टलाई पनि देउवाको प्रचारमा लाग्न निर्देशन दिएको छ ।
पार्टी निर्देशनको पालना नभए दुवै जना स्वतः पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने भुसालले जनाएका छन् । डा. जोशीले सिट बाँडफाँटका क्रममा प्रदेशसभा सिट आफूलाई दिन लबिङ गरेका थिए तर गठबन्धनले भाग नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । जोशी स्थानीय स्तरमा लोकप्रिय नेता मानिन्छन् ।
प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जोशीले प्रतिनिधिसभा सदस्यमा देउवा विरुद्ध उम्मेदवारी दिएका बीपी कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्लसँग तालमेल गरेका छन् ।
जोशीले मल्लसँग मिलेर चुनाव लड्दा देउवालाई अप्ठ्यारो पर्ने देखिएपछि नेकपा एस आफ्नै नेता, कार्यकर्तालाई कारवाही गर्ने तहसम्म पुगेको छ । नेकपा एसका उम्मेदवारले अन्य जिल्लामा समेत गठबन्धन विपरीत उम्मेदवारी दिए पनि एसको ध्यान देउवाको जिल्लामा बढी देखिएको छ ।