

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले तिहार र छठ पर्वलाई मध्यनजर गरी बजार अनुगमन अघि बढाएका छन् । दोधारा चाँदनी नगरपालिकाका ७ बाबाथान बजार, हेल्थपोष्ट बजार लगायत क्षेत्रमा खाद्यान्न, ईन्धन, लत्ता कपडा, माछा मासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेका छन् ।
चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मुल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगाएतका समस्या देखिने गरेकाले तिहार र छट पर्व आउन केही दिन मात्र बा“की रहदा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा एक टोलीले बजार अनुगमन कार्यलाई सक्रिय रुपमा अघि बढाएका छन् ।

टोलीमा मेयर लिम्बु सहित उप मेयर गंगा देबी जोशी, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्जुन सिंह साउँद, नगर प्रवक्ता ओंम बसनेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थी, कार्यक्रम अधिकृत भान देब भट्ट, पशु कार्यालयका प्रमुख कृष्ण साउँद, कृषि शाखाका शाखा प्रमुख कमलापती भट्ट लगायतका सहभागी भएका छन् ।


बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याईने बताईएको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले बजार अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाईएको मेयर लिम्बुले बताए ।
चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई अघि बढाईएको बताईएको छ ।
अनुगमनमा भारतबाट आयातित १७ क्रेट सेतो अण्डा, म्याद गुज्रेका पेय पदार्थ, सडेगलेको आलु, प्याज लगाएत सामग्री नियन्त्रण लिएर स्थानिय प्रशासन, जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साउँदले जानकारी दिएका छन् ।
चाडपर्वममा बढी खपत हुने मिठाई, खाद्यान्नको गुणस्तर तथा मूल्य, कालोबजारी सबै विषयमा अनुगमन हुने बताईएको छ ।

