काँग्रेस छाडेर काँग्रेस विपीबाट उम्मेदवार भएका वैद्य, भन्छन्– काँग्रेसमा झोलेवाद हावी भयो, उकुशमुकुश भएर बाहिर निस्कियौ
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य उम्मेदवार नारायण बोहरा वैद्यले चुनाव प्रचारको पहिलो चरणमा सबै मतदाताका घरदैलोमा पुगेका छन् । काँग्रेस वीपिका उम्मेदवार उनी करुवा चुनाव चिन्ह लिएर पहिलो पटक मतदाताका घरदैलोमा पुगेका छन् ।
‘यस पटक पहिलो पटक मत माग्दै घरदैलोमा पुगेको छ, अहिले पनि चुनाव प्रचार कार्यक्रम चालु छ, एक चरणको कार्यक्रम सकिएको छ’ उनले भने,‘अब छिटो अर्को चरणको कार्यक्रममा सुरु गर्छु ।’
चुनावी घरदैलोको क्रममा प्रदेश सभा क्षेत्रका १७ वडामा आफू सबै मतदाताको सहयोग पाउनेमा विश्वस्त भएको बताए ।
‘मेरो क्षेत्रमा शुनपाका ८ र बेनपाका ९ गरी गरी १७ वडा छन्, मतदाताको सहयोग पाउनेमा ढुक्क भए’ उनले भने, ‘मतादातामा पूरानादेखि वितृष्णा छ, जनताले नयाँ मान्छेलाई भोट दिन खोजेको छ ।’
काँग्रेस वीपि कञ्चनपुरका सदस्य उनी यस अघि नेपाली काँग्रेसमा आवद्ध थिए । सिद्धनाथ विज्ञान क्याम्पसमा २०४८ मा नेपाल विद्यार्थी संघको इकाई समिति सभापति भएका उनी राष्ट्रिय अनुसन्धानको जागिर खाएपछि काँग्रेसको खुला राजनीतिबाट बाहिरिएका थिए । अनुसन्धानको जारिग छाडेपछि फेरि काँग्रेस राजनीतिमा सक्रिय भएर उनी १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएका थिए ।
‘जागिर खाएपछि राजनीतिमा सक्रिय हुन पाएन, समर्थक र भोटर हुने नै भए’ उनले भने,‘जागिर छाडेपछि फेरि सक्रिय भएर लागे, क्षेत्रीय प्रतिनिधिसम्म भएपछि काँग्रेस पनि छाडे र विपीमा आए ।’
काँग्रेसमा झोलेवाद हावी भएपछि विकल्प नभएर उकुशमुकुसमा बस्न बाध्य नेता कार्यकर्ता काँग्रेस विपी बनेपछि छाडेर निस्किएको उनले बताए । ‘काँग्रेसमा झोलेवाद हावी भयो, त्यो भनेको नेताको सही गलत काम छुट्याउन नसक्ने, अन्ध समर्थक हावी भए’ उनले भने,‘त्यति हुँदा पनि विकल्प नभएर उकुशमुकुश सहेर बसेका थियौ, विकल्प पाएपछि निस्कियौ ।’
काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालले नै काँग्रेससमा सुकिला मुकिला हावी भएपछि त्यस विरुद्ध इमान्दार कार्यकर्ता लाग्ने भविष्यवाणी गरेको उल्लेख गर्दै उनले अहिले विपी काँग्रेस त्यसका विरुद्धमा आएको बताए ।
‘विपी बाबुले काँग्रेसमा एक दिन सुकिलामुकिला हावी हुने छन्, त्यसलाई इमान्दार कार्यकर्ताले रोक्ने छन् भन्नु भएको थियो, अहिले त्यहीं विरुद्ध विपी काँग्रेस आएको हो’ उनले भने,‘सहीलाई सही र गलतलाई गलत भन्न नसकेसम्म प्रजातन्त्र बलियो हुन सक्दैन, त्यस कारण खालको विद्रोह नै हो ।’
काँग्रेसमा इमान्दार कार्यकर्ताको मूल्याङ्कन नहुने, चाकरीका आधारमा टिकट पाइने र कामको मूल्याङ्कन नहुने भएपछि इमान्दार कार्यकर्ता त्यहाँ बस्नुको औचित्य नहुने प्रदेश सभा सदस्यका उम्मेदवार बोहराले बताए ।
प्रदेश सभा सदस्यका उम्मेदवार बोहराले काँग्रेस विपीले काँग्रेसका २० देखि ३० प्रतिशत काट्ने दावी गरे । निर्वाचन क्षेत्र नं. २ मा बीर बहादुर बोहरा प्रतिनिधि सभा र २ ख मा बोहरा प्रदेश सभा सदय र कञ्चनपुर ३ ख मा काँग्रेसका पूर्व दोधारा गाविस सभापति धन बहादुर शाही प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् ।
प्रदेश सभा सदस्यका उम्मेदवार बोहरा रोजगारलाई प्रमुख चुनावी एजेण्डा बनाएर मैदानमा गएका छन् । उनले रोजागरको व्यवस्था नभएसम्म विकास र समृद्धि हुन नसक्ने बताए । ‘मैले रोजगारका कुरालाई प्राथमिकता दिएको छु, रोजगार पाएपछि आम्दानी बढ्छ, त्यो बढेपछि स्वास्थ्य, सन्तानलाई राम्रो शिक्षा दिक्षा दिन्छ । उ स्वभिमानी हुन्छ स्वच्छ र योग्य नागरिक बन्छ’ उनले भने,‘पहिलो प्राथमिकता रोजगार नै हौ, त्यसका लागि सरकाररी संरचना सुधार लगायतका नीतिगत सुधार र कार्यक्रम ल्याउँछु ।’
बोहराले आफ्नो क्षेत्रका सबै उम्मेदवारसित प्रत्यक्ष रुपमा बहस गर्न तयार रहेको बताएका छन् । ‘मसित ८ जना प्रतिस्पर्धी छन्, वहाँ सबैसित म लाइभ डिबेटमा बस्नु तयार छु’ उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि बहस गरौ, बहसमा कसैले हराउन सक्छ भने म छाडि दिन्छु ।’
राष्ट्रिय अनुसन्धानको जागिर छाडेपछि निर्माण व्यवसायमा संलग्न उनी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्र विद्यावारिधि गर्न लागेका छन् । सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएस्सी गरेपछि जागिरमा लागेका उनले सन् २००० मा स्नातकोत्तर गरेका थिए ।
प्रदेश सभा सदस्य बोहरासंगै समानुपातिक उम्मेदवार आनन्दी राना पनि चुनावी मैदानमा छिन् । राना सामाजिक अभियन्ता रानाका रुपमा परिचित छन् ।