
महेन्द्रनगर । सत्ता गठबन्धनका काँग्रेस माओवादी स्थानीय तह निर्वाचनका मत र एमाले विभाजनका कारण चुनाव जित्ने सकिनेमा आशावादी छन् । स्थानीय तह निर्वाचनमा पाएको मत पाउनेमा भने गठबन्धनका दुबै दल एक अर्कासित सशंकित भएका छन् ।
सत्ता गठबन्धनका दुबै दल काँग्रेस माओवादी आफैं पनि अहिले स्थानीय तह निर्वाचनको मत पाउन नसक्ने अवस्थामा पुगेका छन् । काँग्रेस विभाजन भएर बनेको काँग्रेस, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका बागी उम्मेदवार र टिकट असन्तुष्टिले काँग्रेस कमजोर अवस्थामा फर्किएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाहेक अन्य सबै क्षेत्रमा काँग्रेसका बागी उम्मेदवार भएका छन् । काँग्रेस विरुद्ध काँग्रेस विपीबाट पूर्व नेता चुनावी मैदानमा आएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा काँग्रेसका उम्मेदवार रमेश लेखक विरुद्ध प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा काँग्रेसका नेता बागी भएका छन् । प्रतिनधि सभामा उनी विरुद्ध दिपक बहादुर सिह, शारदा चन्द, दुर्गादत्त पाण्डेय र मदन दमाई चुनावी मैदानमा छन् ।
दोधारा गाविसाका तत्कालिन काँग्रेस सभपाति धन बहादुर शाही, पिताम्बर जोशी, र गोपाल सिह बुडपाल चुनावी मैदानमा छन् । स्थानीय तह निर्वाचनमा काँग्रेस जिताउन सक्रिय रुपमा लागेका काँग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष प्रकाश बहादुर सिह आर्फैं काँग्रेस विपीको जिल्ला संयोजक भएर हराउने अभियानमा सक्रिय भएका छन् ।
सिहका भाई दिपक बहादुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् । काँग्रेस विपीले सिहलाई सहयोग गर्ने गरी छलफ अघि बढेको छ । काँग्रेस विपीका जिल्ला सदस्य नारायण बोहरा वैद्यले विपीले काँग्रेसका २० देखि ३० प्रतिशत मत काट्ने बताए ।
‘पहिलो पार्टी गठन गरिएकाले २०–३० प्रतिशत मत काट्छौ’ उनले भने,‘पार्टीको विचार, सिद्धान्त मान्ने इमान्दार सबै काँग्रेस हामीलाई सहयोग गर्छन्’ उनले भने,‘सुकिलामुकिला मात्रै त्यहाँ बाँकी रहनेछन् ।’
काँग्रेस विपीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा उम्मेदवार भएका छन् । निर्वाचन क्षेत्र नं. २ मा विपीका बीर बहादुर चुनावी मैदानमा छन् ।
काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँद विरुद्ध इन्जिनियर जगदीश अवस्थी र उनका पूर्व स्वकीय गिरिराज पाण्डेय बागी भएका छन् ।
माओवादी केन्द्रमा पनि टिकट वितरणपछि आन्तरिक असन्तुष्टि बढेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा माओवादी नेता देबीलाल चौधरीको टिकट खोसिएपछि आदिवासी जनजाति समुदाय असन्तुष्ट भएका छन् । बेदकोट नगरपालिकाका ओमबिक्रम भाटलाई उम्मेदवार बनाएको छ । भाट पाहुना उम्मेदवार भएपछि पार्टीभित्रै उनी अप्ठेरोमा परेका छन् ।
सत्ता गठबन्धनमा सबैभन्दा बढी खतरा एकले अर्कोलाई मत हाल्ने नहाल्ने आशंकाले पोलेको छ । सशस्त्र जनयुद्धमा माओवादीले काँग्रेसलाई प्रमुख दुष्मन मानेका कारण माओवादी काँग्रेसबाट मत नआउने शंकामा छन् । काँग्रेस माओवादीले आफूलाई मत नहालेर कम्युनिष्टको आधारमा एमाले दिने आशंका गरी बसेको छ । यस अघि एमाले र माओवादीका नेता कार्यकर्ता नेकपा विघटन अघि एकै पार्टीमा बसेकाले काँग्रेस माओवादीका सबै मत पाउन नसक्ने चिन्तामा छ ।
‘काँग्रेस कम्युनिष्टको मुख्य दुश्मन नै हो, अहिले जे जसरी गठबन्धन भए पनि एकले अर्काेलाई सजिलै मत हाल्ने अवस्था छैन’ काँग्रेसका एक नेताले भने,‘तर पनि गठबन्धन भई हाल्यो जसरी पनि हाल्नु लाउनु पर्छ ।’
काँग्रेस र माओवादी दुबै वैचारिक रुपमा स्पष्ट नेता कार्यकर्ताले एक अर्कालाई मत दिन नसक्नेमा चिन्तित भएका छन् । ‘विचार जाने बुझेका नेता कार्यकर्तालाई त मत दिनु दुबैका लागि गाह्रो नै हो’ ती नेताले भने,‘सकेसम्म प्रयास पनि गर्छौ ।’
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ र ३ मा केही माओवादी नेता कार्यकर्ताले गठबन्धन मत नहाल्ने संकेत गरि सकेका छन् । कञ्चनपुर ३ मा माओवादीका केही नेता समाजवादीका उम्मेदवार प्रकाश रावललाई सहयोग गर्ने मनस्थितिमा पुगेका छन् ।
माओवादी केन्द्र छाडेर धेरै नेता कार्यकर्ता एमालेमा आएका कारण पनि माओवादी जिल्लाभर अघिल्लो निर्वाचनको तुलनामा कमजोर छ । माओवादी सबैभन्दा बढी नेता कार्यकर्ताले निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्र छाडेका छन् । माओवादी जनयुद्धका नेता बीर बहादुर थापा आफैं एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । माओवादी केन्द्रबाट संविधान सभा सदस्य चुनाव लडेका मोहन गिरी गत भदौमा मात्रै एमाले आएका थिए ।
स्थानीय तह निर्वाचनमा पनि तीन तह जितेको एमाले यस पटक सम्हालिएर चुनावी मैदानमा होमिएको छ । एमाले विभाजन, एमाले कञ्चनपुरको आठांै जिल्ला अधिवेशन, सत्ताका असन्तुष्टि, टिकट वितरण असन्तुष्टि लगायतका कमजोरी सहित एमाले स्थानीय लडेका थियो । पार्टी विभाजन भएर पनि चुनाव लड्दा एमाले अघिल्लो निर्वाचनमा जितेका दुई तह मात्रै गुमाएको छ ।
अहिले एमालेमा समाजवादी गएका अधिकाँश नेता कार्यकर्ता फर्किएका छन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तारालामा तामाङ्ग एमाले फर्किएर कञ्चनपुर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् । बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द, मेयरका उम्मेदवार रामचन्द्र रेग्मी, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री कुलबीर चौधरी लगायतका नेता कार्यकर्ता एमाले फर्किएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएर एमालेका खेम सुवेदी, भक्त अधिकारी, टेक बहादुर हमाल पनि चुनावी मैदानमा छन् । उनीहरु सबै बागी भएर चुनाव लडेका छन् ।
कञ्चनपुर ३ मा एमाले राप्रपासित चुनावी तालमेल गरी मैदानमा होमिएको छ । राप्रपाका उम्मेदवार नभएका जिल्लाका अन्य क्षेत्रमा पनि राप्रपाको साथ एमालेलाई छ ।
असोज २२ गते उम्मेदवारी दर्तापछि एमाले र राप्रपाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले एमाले एक ढिक्का भएर चुनावी मैदानमा होमिएको घोषणा गरेका थिए ।
