
कञ्चनपुर निर्वाच क्षेत्र नं. ३ (क) का सबै वडामा एमाले राप्रपाले खोल्यो संयुक्त सम्पर्क कार्यालय, तिहारपछि चुनावी मुद्दा लिएर मतदातामा जाने तयारी

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क का सबै वडामा नेकपा एमालेका चुनाव प्रचारका लागि सम्पर्क कार्यालय खोलिएका छन् । उम्मेदवारी दर्तापछि प्रदेश सभा क्षेत्रका सबै १३ मा सम्पर्क कार्यालय खोलिएका छन् ।
यस क्षेत्रमा भीमदत्त नगरपालिका १२ र बेदकोट नगरपालिकाको ८ नम्बर वडा गरी १३ वडा छन् । भीमदत्तमा १,२,३,४,५,६,७, ८, ९,१० र १९ नम्बर वडा यस प्रदेश सभा क्षेत्रमा पर्छन् । यस प्रदेश सभा क्षेत्रमा ४६ हजार बढी मतदाता छन् ।

एमालेबाट प्रतिनधि सभा सदस्यमा एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल र राप्रपाका धर्मराज जोशी प्रदेश सभा सदस्यका उम्मेदवार छन् । कञ्चनपुर ३ मा एमाले र राप्रपा चुनावी तालमेल गरी चुनावी मैदानमा गएका छन् ।
प्रदेश सभा सबैका सबै वडामा संयुक्त पार्टी कार्यालय खोलेर एमाले र राप्रपा संयुक्त प्रचारमा छन् । एमालेको प्रदेश सभा निर्वाचन क्षेत्र क का निर्वाचन परिचालन समितिका संयोजक जनकराज अवस्थीले चुनाव प्रचार कार्यक्रमलाई व्यवस्थित गर्न प्रदेश सभा क्षेत्रका सबै १३ वडामा सम्पर्क कार्यालय खोलिएको बताए ।
‘यस प्रदेशका सबै १३ ओटै वडामा सम्पर्क कार्यालय खोलेका छौ, बाँकी प्रचारका कार्यक्रम योजनाबद्ध रुपमा तिहारपछि सुरु गर्छौ’ उनले भने ।
एमाले राप्रपाले सम्पर्क कार्यालय स्थापनासंगै चुनावी घरदैलो र मतदाता भेटघाटलाई पनि निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल, प्रदेश सभा सदस्यका उम्मेदवार जोशी सहित दुबै दलका नेता कार्यक्रममा सहभागी भएका छन् ।
प्रदेश निर्वाचन परिचालन समितिका संयोजक अवस्थीले तिहारपछि दोस्रो चरणमा योजनाबद्ध रुपमा चुनावी मुद्दा लिएर जनताको घरदैलोमा जाने गरी तयारी गरिएको बताए ।
एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पालले बन्द भएको महकाली करिडोरको काम र मझगाउँ विमानस्थलको काम सुचारु गर्ने आफ्नो प्रमुख चुनावी एजेन्डा भएको बताइन् ।
उनले एमाले सरकारका बखत सुरु भएको करिडोर र विमानस्थलको काम अहिलेको सरकारले स्थगित गरेको भन्दै त्यसलाई सुचारु गर्ने बताइन् ।
महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति, भीमदत्त नगरपालिकाको ८३ किलोमिटर बाह्य चक्रपथ निर्माण, दोधारा चाँदनीलाई नमुना नगर बनाउने र चुरे फेदीमा खानेपानीको व्यवस्थासँगै खहरे खोलाको कटान नियन्त्रणलाई प्रमुख चुनावी एजेन्डा बनाएकी छन् । महाकालीमा पक्की तटबन्ध निर्माण पनि प्राथमिकतामा राखेकी छन् ।
एमालेको वडा कमिटीबाट राजनीतिमा आएकी पाल २०६५ मा संविधान सभा सदस्य उप निर्वाचन लडेकी थिइन् । त्यसपछि २०७४ मा समानुपातिक साँसद भएकी उनी यस पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा आएकी छन् ।
एमालेको पार्टी राजनीतिमा आउनु अघि उनी युवा संघ र महिला संघमा नेतृत्व गरि सकेकी छन् । एमालेको नवौ महाधिवेशन अघि उनी एमालेको राष्ट्रिय युवा संघको नेतृत्व गरेकी थिइन् । युवा संघको नेतृत्वपछि एमालेको वैकल्पिक केन्द्रीय सदस्य भएर उनी अहिले पोलिटब्युरोसम्म पुगेकी छन् ।
एमालेका इन्चार्ज पाल प्रतिनिधि सभा सदस्य र जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । उनी प्रदेश सभा ख मा उम्मेदवार भएका छन् । २०७४ मा भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनी प्रदेश सभा सदस्य चुनाव लडेका हुन् । पार्टी र जनता दुबैमा बलियो पकड भएका उनी एमालेमा निडर, तर्कशिल, स्पष्टवक्ता र मिलनसार नेताका रुपमा परिचित छन् । उनी चुनावी रणनीतिका योजनाकार नेताका चिनिन्छन् ।
एमाले इन्चार्ज पाल सहित अध्यक्ष विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट लगायतका पदाधिकारी चुनावी मैदानमा छन् । उनीहरुमा बुढा बाहेक सबै प्रत्यक्ष निर्वाचनमा छन् । बुढा प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार हुन् ।
