दोधारा चाँदनीमै बेल बहादुर विरुद्ध छन् काँग्रेसका पूर्व गाउँ सभपाति शाही चुनावी मैदानमा, माओवादी छाडेका कुमाल पनि स्वतन्त्र उम्मेदवार
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर रानालाई काँग्रेस विपीका धन बहादुर शाही चुनौती बनेका छन् ।
अघिल्लो निर्वाचनमा रानालाई सक्रिय रुपमा लागेका शाही यस पटक काँग्रेस छाडेर आफैं काँग्रेस विपीबाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । १७ वर्ष काँग्रेसको दोधारा गाउँ सभापति भएका उनी अपमान भएपछि पार्टी छाडेर विपीटबाट उम्मेदवार भएका छन् ।
काँग्रेसका उम्मेदवार रानाले केही दिन अघि शुभ कामना आदानप्रदान कार्यक्रममा आफू मात्रै दोधारा चाँदनीको उम्मेदवार भएकाले जिताउन आग्रह गरेका थिए । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रदेश सभा सदस्यमा राना र शाही बाहेक एमालेका सुरेन्द्र विष्ट, स्वतन्त्र भीम बहादुर कुमाल र नेपाल मजदुर किसान पार्टीका लक्ष्मण रोकाया उम्मेदवार रोकाया छन् ।
उनीहरुमा विष्ट बाहेक सबै दोधारा चाँदनीका वासिन्दा हुन् । रानाले अन्य उम्मेदवार नभएको भन्दै आफू मात्रै दोधारा चाँदनीको एक्लो उम्मेदवार भएको भन्दै क्षेत्रीयताको नारा लगाएका छन् । प्रदेश सभा ख दोधारा चाँदनीका १० वडा सहित भीमदत्तका ७ वडा पर्छन् ।
दोधारा चाँदनीका ४ उम्मेदवारमध्ये शाही र कुमाल दुबै सत्ता गठबन्धन आवद्ध दलबाट अलग भएका हुन् । स्वतन्त्र उम्मेदवार कुमाल नेकपा माओवादी केन्द्र छाडेर स्वतन्त्र भएका हुन् । उनी स्थानीय तह निर्वाचनमा चुनाव लडेका थिए ।
काँग्रेस शाही स्थानीय तह निर्वाचनमा स्वतन्त्र लड्ने सोच बनाए पनि उनी पछि हटेका थिए । अहिले काँग्रेस विपीबाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा उप मेयर लड्न खोजेका थिए ।
सत्ता गठबन्धनका काँग्रेस र माओवादीका नेता उम्मेदवार भएपछि सत्ता गठबन्धनका राना स्वतः समस्यामा परेको काँग्रेसका नेता बताउँछन् । ‘गाविस सभापति भएको नेता नै उम्मेदवार भएपछि समस्या त भै हाल्छ, बाहिर हल्ला गरिए जस्तो अवस्था छैन, समस्या छ’ काँग्रेसका एक नेताले भने ।
भीम कुमाल स्वतन्त्र भएपछि माओवादी केन्द्रको जनमत ह्वात्तै घटेको ती नेताले बताए । ‘स्थानीय तह निर्वाचन हेर्दा पनि त्यस्तो देखिन्छ, माओवादीको संगठन त्यति बलियो छैन, काँग्रेसलाई माओवादीबाट त्यति फाइदा छैन’ ती नेताले भने,‘एमालेको राप्रपासित तालमेल झनै समस्यामा पारि दिएको छ ।’
काँग्रेस विपीका शाही र स्वतन्त्र उम्मेदवार कुमालले सत्ता गठबन्धनका मत काट्ने म नेताहरु चिन्तित भएका छन् । तत्कालिन दोधारा गाविकास शाहीले काँग्रेसको धेरै मत काट्न चिन्ता उनीहरुमा छ ।
करुवा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका शाहीले शाहीले १७ वर्ष दोधारा काँग्रेसको नेतृत्व गरेका थिए । ६९ वर्षिय शाही केही वर्षदेखि काँग्रेंसमा असन्तुष्ट थिए ।
अहिले उनी करुवामा मतदानका लागि आह्वान गर्दै घरदैलोमा जुटेका छन् । कांग्रेसभित्र अवसरवादीले मात्रै अवसर पाउने र निरन्तर खटिने कार्यकर्ता पाखा लगाउने परिपार्टी हावी भएको कारण बिगत लामो समय देखि पार्टीमा योगदान गर्दागर्दै छाड्नु परेको पीडा उनीसित छ । ‘पार्टीका लागि निस्वार्थ लाग्नेमाथि जहिल्यै भेदभाव मात्रै भयो,’ शाहीले भने, ‘यस क्षेत्रका नेताले पनि बुझ्न सकेनन् ।’
शाही २०४७ सालमा कांग्रेसका जिल्ला सदस्य हुँदै २०४९ देखि २०६६ सम्म गाउँ सभापति भएका हुन् । २०६१ सालमा उनी महाधिवेशन प्रतिनिधि समेत भए । उनी पञ्चायतकालमा अत्यधिक मतका साथ दोधारा गाउँ पञ्चायतका उप–प्रधानपञ्च पनि भएका थिए ।