
महेन्द्रनगर । नेपाली काँग्रेसले बागी उम्मेदवार सहित पार्टी छाडेर अन्य दलबाट चुनावी मैदानमा होमिएका सबै नेता कार्यकर्तालाई कारवाही गरेको छ । उम्मेदवारी दर्तापछि फिर्ताका लागि गरिएका सबै प्रयास विफल भएपछि उनीहरुलाई कारवाही गरिएको हो ।
काँग्रेसले सत्ता गठबन्धन विरुद्ध चुनावी मैदानमा होमिएका १५ नेता कार्यकर्तालाई गरेको छ । उनीहरु सबैलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको छ । उम्मेदवारसंगै उनीहरुका प्रस्ताव र समथर्कलाई पनि कारवाही गरिएको छ । कारवाही गरिएका प्रस्तावक र समर्थकको नाम भने बाहिर ल्याइएको छैन ।

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक विरुद्ध बागी भएका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह र शारदा चन्द लगायतलाई कारवाही गरिएका छन् । उनीहरु दुबै जना काँग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसका उम्मेदवार एनपी साउँद विरुद्ध बागी भएका गिरीराज पाण्डेय (कृष्णपुर) र जगदीश अवस्थी कारवाहीमा परेका छन् । पाण्डेय साउँदका पूर्व स्वकीय सचिव हुन् ।
काँग्रेसर छाडेर काँग्रेसी बीपिबाट उम्मेदवार भएका बेदकोटका नारायण बोहरा र शुक्लाफाँटाका बीर बहादुर बोहरा पनि कारवाहीमा परेका छन् । उनीहरुमा बोहरा निर्वाचन क्षेत्र नं २ ख र बोहरा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् ।
शुक्लाफाँटाका दिल्लीराज पनेरु, भीमदत्तका दुर्गादत्त पाण्डेय, मदन दमाइ (भीनपा), धनबहादुर शाही (दोधारा चाँदनी), पीताम्बर जोशी (भीनपा), खेम चौधरी (कृष्णपुर), मोतीराम राना (शुक्लाफाँटा), संजिवसिंह राना (शुक्लाफाँटा) र जगत सायर (पुनर्वास) कारवाही परेका छन् ।
उनीहरुमा भीनपा ४ का दमाई बागी काँग्रेसका बागी हुन् । काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेयका आफन्त दुर्गादत्त काँग्रेस छाडेर अर्को दलबाट चुनावी मैदानमा आएका छन् । कञ्चनपुर ३ क मा प्रदेश सभा सदस्यका उम्मेदवार भएका जोशी काँग्रेसको १४ औं महाधिवेशनमा पराजित भएका थिए ।
कांग्रेस कञ्चनपुरको अनुशासन समितिका संयोजक नाफुसिंह साउदले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको सार्वजनिक गरेका छन् ।
