काँग्रेसका बागी सिहले खोले सालघारीमा चुनावी सम्पर्क कार्यालय, भने–यस क्षेत्रबाट पटक पटक निर्वाचन जित्छन्, तर जनताको लागि काम गर्दैनन्
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिका–१८ सालघारीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर उनले सम्पर्क कार्यालय खोलेका हुन् । उनले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांश वडामा सम्पर्क कार्यालय स्थापना गरी सकेका छन् ।
घरदैलो अभियानलाई समेत उनले तिब्रता दिएका छन् । निः शुल्क शिक्षा, स्वास्थ्य, खानेपानीलाई उनले मुख्य चुनावी एजेण्डा बनाएका छन्। ‘हरेक नागरिकले शिक्षा, स्वास्थ्य र खानेपानी निशुल्क पाउनु पर्छ, त्यसका लागि हामी पहल गर्छाै,’ उनले भने, ‘त्योसँगै दिगो विकास निर्माणलाई पनि प्राथमिकतामा राखेको छु।’
एउटै व्यक्ति पटकपटक उम्मेदवार बन्ने र नेतृत्वमा पुग्ने परिपाटीको अन्त्यका लागि आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनको भनाई छ ।
‘राजनीति सेवा हो, पेशा होइन्, केही व्यक्तिले राजनीतिलाई पेशा बनाएका छन्,’ उनले भने, ‘यस क्षेत्रबाट पटकपटक निर्वाचन जित्छन्, तर जनताको लागि काम गर्दैनन् ।’