भीमदत्तबाट सम्झौता अनुसार पाउनु पर्ने अघिल्लो वर्षको रोयल्टी रकम नपाएपछि दोधारा चाँदनी नगरपालिका आफैंले खोल्यो ठेक्का, भीमदत्तमा भने ठेक्का नै खोलिएन
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अघिल्लो वर्षको रोयल्टी रकम नदिएपछि दोधारा चाँदनी नगरपालिकाले यस वर्ष महाकाली नदीको आफ्नो क्षेत्रमाा ठेक्का खोलेको छ । यस अघि भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच सम्झौता भएर भीमदत्तले महाकाली नदीको रोयल्टी ठेक्का गर्दै आएको थियो ।
भीमदत्त नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि दोधारा चाँदनी नगरपालिकासित सम्झौता नविकरण नभएर दोधारा चाँदनी नगरपालिका आफैले ठेक्का आव्हान गरेको हो । दोधारा चाँदनी नगरपालिकाले एक करोड १७ लाख न्यूनतम अंक राखेर बढाबढीमा ठेक्का खोलेको छ ।
दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले भीमदत्तबाट अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नकसेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए ।
‘अघिल्लो आर्थिक वर्षको रकम पनि पाएका छैनौ, भीमदत्तले यस वर्ष ठेक्का पनि लगाएन’ उनले भने,‘त्यस कारण दोधारा चाँदनी नगरपालिका आफंै ठेक्का बन्दोवस्ती गरी अघि बढेको हो, इआए गरी ठेक्का खोलेका छौ ।’
अघिल्लो आर्थिक वर्षको रोयल्टी रकमका लागि दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दुई पटक भीमदत्त आएका छन् । भीमदत्तबाट रोयल्टी नलिई उनी रित्तो हात फर्किएका छन् ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच आर्थिक वर्ष २०७६÷०७७ देखि महाकाली नदीको रोयल्टी बाँडफाँटमा सम्झौता भएको थियो । भीमदत्त नगरपालिकाले ठेक्का व्यवस्थापन गरी सुदूरपश्चिम प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम बाहेकको आम्दानीमा ३८ प्रतिशत दोधारा चाँदनीलाई दिने सम्झौता गरिएको थियो । त्यस अनुसार दोधारा चाँदनी नगरपालिका बर्सेनी ४८ लाख रोयल्टी रकम आम्दानी भएको थियो ।
दुई नगरपालिकाबीच सम्झौता अघि भने दोधारा चाँदनी नगरपालिका आफैैं रोयल्टी संकलन गर्दा बढी १५ लाख मात्रै आम्दानी गरेको थियो । महाकाली नदीको नदीजन्य पदार्थको अत्यधिक खपत भीमदत्तमा हुने भएपछि दोधारा चाँदनीका नगरपालिका तत्कालिन मेयर बीर बहादुर सुनारले भीमदत्तका मेयर सुरेन्द्र विष्टसित छलफल गरी दुबै स्थानीय तहबीच सम्झौता गराएका थिए । दुबै स्थानीय तहबीच रोयल्टी रकम बाँडफाँटमा सहमति गराउन सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनार सक्रिय भएका थिए ।
दुबै नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेको सम्झौतामा दोधारा चाँदनी नगरपालिकाका तत्कालिन प्रवक्ता दिल बहादुर सिजाली, भीमदत्तका प्रवक्ता हिमाल बहादुर चन्द सहित वडा अध्यक्षहरु रोहवर बसेका थिए ।
भीमदत्तमा जेठ ५ गते निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकाल सकिएपछि काँग्रेस सभापति पदम बोगटीले पदभार सम्हालेका छन् । भीमदत्तमा बोगटी आएपछि दोधारा चाँदनीले अघिल्लो आर्थिक वर्षको रोयल्टी रकम नपाएको हो । दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम वस्नेतले आर्थिक वर्ष २०७८÷०७९ को रोयल्टी रकम नपाएको बताए ।
‘भीमदत्तसित सम्झौता हुन अघि एकदमै न्यून रोयल्टी रकम संकलन भएको छ, सम्झौता भएपछि ४८ लाख आएको छ, त्यस अघि १२ लाख र १५लाख मात्रै छ’ उनले भने,‘त्यस बाहेक अघिल्लो आर्थिक वर्षको त रकम नै पाएका छैनौ ।’
प्रवक्ता वस्नेतले केही दिन अघि फेसबुकमा सम्झौता अघि र पछिको रकम निकै फरक भएकाले छानबिन गरिनु पर्ने चेतावनी दिएका छन् ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा ठेक्का नगरी महाकाली नदीबाट रोयल्टी रकम संकलन गरि रहेको छ । रोयल्टी रकम संकलनका लागि नगर प्रहरी परिचालन गरिएका छन् । नगरपालिकाले महाकाली नदी सहित अन्य खोलानाला आइआइई गर्न नसकेपछि ठेक्का नलगाएर नगर प्रहरी लगाएर संकलन गर्न थालिएको छ ।
भीमदत्त नगरपालिकाको राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख बिक्रम भण्डारीले अघिल्लो वर्षको रकम दिन बाँकी भएको बताए । ‘सम्झौता अनुसार दिनु पर्ने हो, अघिल्लो वर्षको रकम दिइएको छैन’ उनले भने ।