महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम जोशी कांग्रेस उम्मेदवार रमेश लेखकको चुनावी प्रचारमा व्यस्त हुन थालेपछि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा चुनाव प्रचार प्रसारमा जान बञ्चित गरेको छ ।
तर, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक (जोशी) कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार रमेश लेखकको चुनावी प्रचारमा व्यस्त भएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर बोगटी र उपमेयर जोशी आफ्नै क्षेत्रमा चुनावी प्रचारप्रसारमा सक्रिय रहेको तस्विर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् ।
पछिल्लो पटक पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा मेयर बोगटी र उपमेयर जोशी चुनावी कार्यक्रममा सहभागी भएको तस्विर साझा गरेका छन् ।
‘कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर, उपमेयर दिनरात चुनाव प्रचारमा। सेवाग्राही चिल्ल ।’ उपाध्यायल लेखेका छन् ।
उनको स्टाट्स सेयर गर्दै विपक्षी दलका कार्यकर्ताहरुले मेयर र उपमेयरलाई निसाना बनाउन थालेका छन् । पालिकामा जनप्रतिनिधि नभेटिदा सेवाग्राही मर्कामा परेको भन्दै आलोचना बढेको छ ।
कांग्रेस कार्यकर्ताले भने बोगटी पार्टीको सभापति भएकाले यस्ता कार्यक्रममा सहभागी भएको भन्दै बचाउ गरिरहेका छन् ।
साभार : सीमा रेखा