एमाले उम्मेदवार रानाले भने– मलाई सत्ता गठबन्धनको जस्तो चिल्लो कुरा गर्न आउँदैन, जे बोल्छु, त्यहीं गर्छु
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नंं. २ ख का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार कृपाराम रानाले आफले जनतालाई चिल्ला सपना नबाँड्ने बताएका छन् । शुक्लाफाँटा नगरपालिका ५ खजुवामा आयोजित चुनावी सभामा उम्मेदवार रानाले सत्ता गठबन्धनका उम्मेदवारले जनतालाई भ्रममा पार्न चिल्लो कुरा गरी आश्वासन बाँडि रहेको उल्लेख गर्दैै आफूले गर्न सक्ने कुरा मात्रै गर्ने बताएका हुन् ।
‘सत्ता गठबन्धन चिल्लो कुरा गरी विभिन्न सपनाहरु बाँडेर भोट मागि रहेको छ,’ उनले भने, ‘जे बोल्छु, जे बोल्छु, त्यो गरी पनि देखाउँछु,अरुका जस्तो चिल्लो सपना जनतालाई बाँडेर हिँड्दैन ।’
संविधान सभा सदस्य समेत रहेका रानाले आफ्ना कार्यकर्ता खुसी पार्ने कार्य नगर्ने प्रतिवद्धता उल्लेख गर्दै उनले जनताको चाहना अनुसार काम गर्ने बताए । उनले आफू संविधान सभा सदस्य हुँदा पिपलाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको विकासमा सधैं ध्यान दिने बताए ।
उनले खजुवालाई सुन्दर बनाउने प्रतिवद्धता गर्दै आफू समस्याबारे जानकार भएकाले समाधानमा लाग्ने बताए । हात्ती नियन्त्रण,स्याली नदीले गर्ने बटान रोक्न,बाटोघाटो निर्माण गर्न लगायत अन्य समस्याहरुको समाधानकाक लागि आफुले भूमिका खेल्ने उनको भनाई थियो ।
यहाँका जनता जग्गा भएर पनि सुकुम्बासी जस्तै रहेको उल्लेख गर्दै प्रदेश सभा सदस्य उम्मेदवार रानाले लालपूर्जा वितरणका लागि पनि आफुले महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोग गठन गरेर जनतालाई लालपूर्वा वितरण गर्न खोजिरहेका बेला देशी विदेशी शक्तिहरु मिलेर केपी ओली नेतृत्वको सरकार ढालेको उनले आरोप समेत लगाए ।
त्यसपश्चात् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशबाट गठबन्ध सरकार निर्माण भएको र उक्त सरकारले सुरुमा आयोग विघटन गरेको रानाले बताए ।
अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको र राष्ट्रहित विपरित गतिविधि मात्रै गरिरहेको उनको भनाई थियो । गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लैजान खोजिरहेको रानाले बताए । जनताको पक्षमा,राष्ट्रियताको पक्षमा लाग्ने एकमात्रै पार्टी नेकपा एमाले रहेकाले आफुहरुलाई जिताउन उनले आग्रह गरे ।
एमाले टोल कमिटि अध्यक्ष कलावती भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा संविधान सभा सदस्य कलशा महरा,दुर्गा खुना,केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल चटौत लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।
कार्यक्रमको सञ्चालन वडा कमिटि अध्यक्ष जनक बहादुर खडायतले गरेका थिए ।