
रमेश लेखकसित ओलीले पोखे आक्रोश, भने– निरुलाई तपाई चिन्न हुन्न भयो भने के भयो, जनताले चिनेका छन्, विदेश भ्रमणमा हुनु हुन्थ्यो कि ? कि गठबन्धन गर्दै हुनु हुन्थ्यो ?
महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले आफूले निरुदेवी पाललाई कोही चिन्दैनन् भनेर प्रचारमा गरेकोमा आक्रोश पोखेका छन् । उनले पाललाई नचिनेर विदेश भ्रमण कि गठबन्धन बनाउन लागेको भनेर लेखकलाई प्रश्न समेत गरेका छन् ।
खुला मञ्चमा आयोजित एमालेको चुनावी सभामा उनले पाललाई लेखकले नचिने पनि जनताले चिनेको बताए । ‘एमालेको उम्मेदवार निरु पाललाई कोई चिन्दैनन भनेर कांग्रेसका उम्मेदवार भन्दै हिड्दै छन् रे ’ उनले भने, ‘तपाईले पो चिन्नु हुन्न जनताले चिनेका छ, उनको राष्ट्रिय महत्व, निरुलाई नचिन्ने तपाईं यतिका बर्ष कता हुनु हुन्थ्यो , बिदेश भ्रमणमा हुनु हुन्थ्यो कि ? कि गठबन्धन गर्दै हुन हुन्थ्यो ?’

एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज पाल कञ्चनपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकी छन् । चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पाललाई लेखकले कोही चिन्दैनन् भनेर प्रचार गरेकोप्रति आपत्ति जनाएका हुन् ।
