ghar sansar

खुला मञ्चबाट एमाले अध्यक्ष ओलीले भने– मैले महेन्द्रनगर स्मार्ट सिटी बनाउन छुट्याएको बजेट किन काटियो त ?

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा महेन्द्रनगरलाई स्मार्ट सिटी बनाउन १ अर्ब बजेट छुट्याएकोमा गठबन्धन सरकारले बजेट काटिदिएको आरोप लगाएका छन् ।

शुक्रवार महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प्रश्न गरे, ‘महेन्द्रनगरका लागि छुट्याएको १ अर्ब बजेट कसले काट्यो ?’

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकप्रति लक्षित गर्दै ओलीले प्रश्न गरेका हुन् । ओलीले अहिलेसम्म विकासको के–के काम गरेको भनेर लेखकलाई प्रश्न गरेका छन् ।

ओलीले भने, ‘२०५६ सालदेखि चुनाव लड्दै हुनुहुन्छ, अहिले गर्नु चाहिँ के भयो ? एमालेले गरेको कामलाई आफूले गरेको भन्ने ? दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास के तपाईंले गर्नुभएको हो ?’

नेकपा एमालेका पक्षमा मतदान गरेर गठबन्धनलाई पराजित गर्न ओलीले मतदातालाई आग्रह गरे । कांग्रेस उम्मेदवारले एमाले उम्मेदवार निरुदेवी पाललाई नचिन्ने भनेको प्रसंगमा उनले भने, ‘मंसिर ४ गते झ्याम्म खाएपछि निरु पाललाई चिन्नुहुन्छ, एमालेको पोलिटब्युरो सदस्य निरु पाललाई चिन्नुहुन्न ? यत्रो वर्ष कहाँ जानुभएको थियो ? नेपालमा हुनुहुन्थेन ?’

कांग्रेसमा जनताको पक्षमा विकास गर्ने सामर्थ्य नभएको ओलीले बताए । ओलीले डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने निर्णय कार्यान्वयन गर्न आदेश गरेका छन् । बिग्रिएको कांग्रेसलाई लोकतान्त्रिक बनाउने अभियानमा लागेका मल्ललाई एमालेले समर्थन गर्ने निर्णय यसअघि नै भइसकेको स्मरण गराउँदै उनले केन्द्रको निर्णय अक्षरशः पालना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले सभामै भने, ‘यो मेरो आदेश र निर्देश दुवै हो । उम्मेदवारका बारेमा जिल्लाले निर्णय गर्ने अधिकार कहाँबाट पायो ? केन्द्रको निर्णय अक्षरश पालना होस्, आधिकारिक निर्णयका पक्षमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्छु ।’

सत्तारुढ ५ दलीय गठबन्धनसँग कुनै पनि नीति, योजना र उद्देश्य नभएको बताउँदै ओलीले गठबन्धन काले–काले मिलेर खाउँ भाले जस्तो भएको बताए । उनले गठबन्धन कहाँ पुग्ने भन्ने कुनै गन्तव्य नभएको र यो स्वार्थका लागि बनेको बताएका छन् ।

ओलीले भने, ‘गठबन्धनसँग कुनै नीति कार्यक्रम छैन, गन्तव्यविहीन छ, कहाँ पुग्ने ? गठबन्धन काले–काले मिलेर खाउँ भाले जस्तो छ, देशलाई कसरी लुट्ने भनेर लागेका छन् ।’

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गठबन्धन सरकारले दैजी–छेला औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाहको काम रोकेर राखेको आरोप लगाए । भट्टले एमाले सरकारले औद्योगिक क्षेत्रको शिलान्यास गरेको तर त्यसलाई गठबन्धन सरकारले अवरुद्ध पारेको बताए ।

उनले भने, ‘हामी सरकारबाट बाहिरिएपछि काम भएन, सुक्खाबन्दरगाहको काम पनि अगाडि बढाएका थियौं, बजेट छ, गठबन्धनको निर्देशन के छ भने अहिले त्यो काम अगाडि नबढाउ भन्ने छ ।’

गठबन्धन सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने योजनाबाट रोकेको समेत उनले बताए । ‘गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने हाम्रो योजना छ तर गठबन्धनमा रहेका नेताहरू मेडिकल कलेजलाई समेत डडेल्धुरा लग्ने भन्छन् । गेटामा भौतिक संरचनाहरू छन्, पहिला त्यहाँ त मेडिकल कलेज चलाउनु, त्यसपछि लग्नुहोला डडेल्धुरा ।’

Himal dental
सम्बन्धित
Loading...