
खुला मञ्चमा सत्ता गठबन्धन विरुद्ध खनिए एमाले सचिव भट्ट, भने– किन रोकियो त सुख्खा बन्दरगाह र छेला औद्योगिक क्षेत्रको काम ?
महेन्द्रनगर । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गठबन्धन सरकारले दैजी–छेला औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाहको काम रोकेर राखेको आरोप लगाएका छन् । उनले एमले अध्यक्ष केपी शर्मा ओलीसँगै आएका भट्टले एमाले सरकारले औद्योगिक क्षेत्रको शिलान्यास गरेको तर त्यसलाई गठबन्धन सरकारले अवरुद्ध पारेको बताए ।
‘हामी सरकारबाट बाहिरिएपछि काम भएन्, सुख्खाबन्दरगाहको काम पनि अघि बढाएका थियौं, बजेट छ, गठबन्धनको निर्देशन के छ भने अहिले त्यो काम अघि नबढाउ भन्ने छ,’ उनले भने ।
गठबन्धन सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने योजनाबाट रोकेको उनको भनाई छ । ‘गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने हाम्रो योजना छ, तर गठबन्धनमा रहेका नेताहरु मेडिकल कलेजलाई समेत डडेल्धुरा लग्ने भन्छन्,’ उनले भने, ‘गेटामा भौतिक संरचनाहरु छन्, पहिला त्यहाँ त मेडिकल कलेज चलाउनु, त्यसपछि लग्नुहोला डडेल्धुरा।’
सुदूरपश्चिमको विकासको बाधक गठबन्धन भएको उनको भनाई छ। ‘हिजोका दिनमा टाउकाको मुल्य तोक्ने र तोकिने सँगै छन्, उनीहरुबाट देशको विकास हुँदैन्,’ उनले भने, ‘देशको विकासका लागि एमालेको सरकार बन्नु आवश्यक छ ।’
सुदूरपश्चिममै रोजगारी सृजनाका लागि एमाले नेतृत्वको सरकारले जग हालेको उनले बताए । ‘युवाहरुलाई रोजगारी दिनका लागि दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह लगायतका योजनाहरु एमाले नेतृत्वको सरकारले अगाडि बढाएको हो,’ उनले भने ।
