मझगाउँ विमानस्थल निर्माण कार्य रोकिएको लेखकद्वारा नै स्वीकार, भने– काम रोकिएपछि प्रधानमन्त्रीसम्म कुरा गरेका छौ
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले मझगाउँ विमानस्थलको काम काँग्रेसले रोक्यो भनेर एमालेले भ्रम फैलाएको बताएका छन् । उनले एयरपोर्टका नाममा जमिन नआएका कराण काम रोकिएको उल्लेख गरे ।
‘शिलान्यास गरिसकेपछि एयरपोर्टको काम रोकियो, किन रोकियो भनेर बुझ्दा त्यहा त एयरपोर्टको नाममा जग्गा नै आएको रहेनछ, काम रोकिएपछि म, नगर प्रमुख पदम बोगटी हामीले प्रधानमन्त्री,मुख्य सचिव, पर्यटन मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसंग कुरा गरेका छौ र अहिले नेपाली सेनाले एयरपोर्टका लागि जग्गा दिने समझदारी भएको छ’ भीनपा १६ मा गरिएको चुनावी कार्यक्रममा उनले भने,‘ अहिले एमालेका साथीहरूले एयरपोर्टको काम कांग्रेसले रोक्यो भनेर भ्रम फैलाइरहनु भएको छ ।’
उनले एयरपोर्ट शिलान्यासमा निर्वाचित जनप्रतिनिधले हतार गरेको उनले बताए । ‘कम्युनिष्टका साथीहरूले काम गर्नु भएकै हो,उहाँहरुले नगरपालिका,प्रदेश र केन्द्र मिलेर बजेटको व्यवस्थापन गरेर एयरपोर्ट बनाउने कुरामा अगाडि बढाउनु भयो तर त्यो जग्गा एयरपोर्टको नाम मा छ कि छैन, एयरपोर्ट बनाउन आवश्यक जग्गा एयरपोर्टको नाम आएको छ कि छैन थाहा नगरी, जग्गाको व्यवस्थापन नगरी, प्रक्रिया नपु¥याइ काम देखाउनका लागि हतारले त्यसको शिलान्यास गरिदिनु भयो ।’
काँग्रेसका उम्मेदवार लेखक २०५६ मा पहिलो पटक साँसदमा निर्वाचित भएपछि विमानस्थल बन्द भएको थियो । अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट निर्वाचित भएपछि उनले विमानस्थल पुनः सञ्चालनको काम अघि बढाएका थिए । ४६ करोड ठेक्का आव्हान गरी अघि बढेको काम अहिले बन्द हुन पुगेको छ । सेना सहितको सहमतिमा सुरु गरिएको काम पछिल्लो पटक सेनाका कारण रोकिन पुगेको हो ।
चुनावमा एमालेले उम्मेदवारले विमानस्थल निर्माण कार्य रोकिएकोमा लेखकलाई निशाना बनाएका छन् । अघिल्लो चुनावमा एमाले र माओवादी सहितको तत्कालिन वाम गठबन्धनले एयरपोर्ट सञ्चालनलाई प्रमुख चुनावी मुद्दा बनाएको थियो ।