कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार सिहले भने– हाम्रो यहाँ पटक पटक चुनाव लडि रहेका छन्, अमेरिका बेलायततिर एक दुई पटक भन्दा बढी लड्दैनन्, ती नसकेर नलडेका त होइनन् नि
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले पटक पटक चुनाव लडेर राजनीतिलाई आजीवन पेशा बनाउन खोजिएको बताएका छन् ।
भीमदत्त नगरपालिका ४ जानकी टोलस्थित चुनाव परिचालन कार्यालयमा आइतबार साँझ चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा उनले बढीमा दुई पटक भन्दा बढी चुनाव लड्न नहुनु पर्ने बताएका हुन् ।
‘एक पटकसम्म राम्रो हो, ल दुई पटकसम्म पनि ठिक छ, त्यो भन्दा बढी त ठिक भएन, यहाँ त पटक पटक चुनाव लडि रहेका छन्’ उनले भने,‘अमेरिका बेलायततिर एक दुई पटक राष्ट्रपति हुन्छन्, के उनीहरु नसकेर, असक्षम भएर फेरि राष्ट्रपति नभएका हुन् र, होइन, राजनीतिक सेवा हो, यहाँ त राजनीतिलाई आजीवन पेशा नै बनाउन थालियो ।’
कार्यक्रममा सिहले पटक पटक चुनाव लड्ने नेतालाई मतदाताले घरदैलोमा चुनाव खर्चको स्रोत सोध्नु पर्ने बताए । निर्वाचनमा आयोगमा बुझाएको खर्च विवरणले चुनाव लड्न नपुग्ने उल्लेख गर्दै उनले मतदाताले सोध्नु पर्नेमा जोड दिए ।
स्वतन्त्र उम्मेदवार सिह राजनीतिक दलहरु सिद्धान्त दराजमा थन्काएर गठबन्धन गरी चुनावी मैदानमा आएकोले सत्ता बाहेक अरु केही पनि नहेरिएको बताए ।
‘कही पनि यस्तो हुँदैन, चुनाव अघि नै गठबन्धन, सिद्धान्त दराजमा छन्, गठबन्धन गरी चुनाव लडेका छन्’ उनले भने,‘कुर्सी बचाउन बाहेक अरु केही मतलब छैन ।’