महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्य मन्त्री टेक बहादुर रैकाले नागरिकमा अक्षरश कानुन पालना गर्ने संस्कार नभएसम्म कार्यान्वयन हुन नसक्ने बताएका छन् । उनले कानुन कार्यान्वयनमा समाजबाटै अवरोध आउने गरेको उल्लेख गरे ।
‘कानुन नीति जति राम्रो बनाएर मात्रै भएन, जे जति सकिन्छ, त्यसको कार्यान्वयन महत्वपूर्ण हो’ आफन्त नेपालले सोमबार महेन्द्रनगरमा गरेको कार्यक्रममा उनले भने,‘सरकार बाहेक बाहिर समाज पनि छ, त्यसलाई पनि चिन्न जरुरी छ, अपराधीलाई जोगाउने काम पनि समाजबाट भएको छ ।’
राज्यमन्त्री रैकाले मानव बेचबिखन अपराध न्यूनीकरणका लागि प्रदेश सरकार खुला सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न सक्ने हैसियतमा नभएको बताए । ‘प्रहरी प्रदेश सरकार मातहत छैन, संघ सरकारसित आग्रह गर्ने मात्रै हो’ उनले भने,‘प्रदेश सरकार कडा निगरानी गरी न्यूनीकरणका काममा लाग्नु पर्नेमा दृढ छ ।’
आफन्त नेपाल र एटविन नेपालले साझेदारीमा सञ्चालन गरेको बाल श्रम रोकथाम स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजनाको प्रदेश स्तरीय बैठकमा राज्यमन्त्री रैका सहभागी भएका हुन् । कार्यक्रममा आयोजकले मानव बेचबिखन विरुद्ध बनाएको प्रदेश नमूना नीति हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा धनगढी उप महानगरपालिकाका उप मेयर कन्दकला रानाले अशिक्षा र बेरोजगारीका कारण मानव बेचबिखन हुने गरेको उल्लेख गर्दै उद्यमशिलता, क्षमता अभिवृद्धि र पराशर्मका कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिका सभापति सुशिल कुमार भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा आफन्त नेपालका अध्यक्ष सीता पौडेल, एटविनका बेनमाया गुरुङ्ग, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतका सहभागी भएका छन् ।
मानव बेचबिखन र बाल श्रम न्यूनीकरणका लागि धनगढी उप महानगर सहित भीमदत्त र कृष्णपुर नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन गरिएको छ । कार्यक्रममा परियोजना संयोजक बीर बहादुर नेपालीले परियोजना सम्बन्धी जानकारी गराए ।