लुगा सिउन घरबाट निस्केकी पञ्चेश्वरकी युवतीको शिवनाथमा घाँटी रेटेर हत्या, गम्भीर घाइते अवस्थामा भेटिइन् अर्की युवती
महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी माया लुहार मृत भेटिएकी छन् । शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिक घाँटी रेटेर फालिएको अवस्थामा २१ वर्षिया लुहारको शव भेटिएको हो ।
लुहारसंगै घरबाट निस्केकी १५ वर्षिया नेहा लुहार पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा घाइते अवस्थामा भेटिएकी छन् । उनको घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो भागमा हतियार प्रहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मायाको शव र नेहा रक्ताम्य अवस्थामा भेटिएको बताए । पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनी उपचारका लागि भर्ना गरिएकी छन् ।
माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनि पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेकी हुन् । बुधबारसम्म पनि घर नफर्केपछि घर परिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा मायाको हत्या र नेहा गम्भीर घाइते अवस्थामा भेट्टिएकी हुन् ।
घटनापछि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही आफैं घट्नास्थल तर्फ हिँडेका छन् ।