ghar sansar

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा माओवादी दावी, मुख्यमन्त्रीका दाबेदार भट्टले पत्रकार सम्मेलन गरी दावीबाट पछि नहट्ने घोषणा

khasi

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी नछाड्ने भएको छ । डडेल्धुरा प्रदेशसभा–१ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी कायमै राख्ने बताएका हुन् ।

डडेल्धुरा सदरमुकाममा सोमबार गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले मुख्यमन्त्रीको दाबीबाट पार्टी पछि नहट्ने ठोकुवा गरेका हुन् । उनले शीर्ष तहमा पनि आफूले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति भइसकेको दाबीसमेत गरेका छन् ।

Anant bahu travels

सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा पार्टी अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि अनौपचारिक समझदारी भएको भट्टको भनाइ छ । उनले मुख्यमन्त्री बनाउने समझदारीअनुसार आफूले प्रदेशमा चुनाव लडेको बताए। शीर्ष नेताहरूले आफूसँगको समझदारी कार्यान्वयन गर्नेमा भट्टले विश्वास गरे ।

‘गठबन्धनमा अनौपचारिक सहमतिअनुसार नै म प्रदेशसभामा लडेको हुँ। त्यो कुराको आंशिक खुलासा प्रधानमन्त्रीज्यूबाट नै आइसकेको छ,’ भट्टले भने, ‘त्यही गठबन्धनको निरन्तरताभित्र म मुख्यमन्त्री हुने सबैको अपेक्षा छ र जनताको पनि त्यो अपेक्षा पाएका छौं । गठबन्धनले विवेकपूर्ण ढंगले निर्णय गर्ने आशा छ। शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’

चुनावका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए। २० कात्तिकमा गृह जिल्ला डडेल्धुराको परशुराममा आयोजित चुनावी सभामा देउवाले जिताएर पठाए भट्ट नै मुख्यमन्त्री बन्ने दाबी गरेका थिए ।

dirghayi clinic

पार्टीभित्र पनि आफू मुख्यमन्त्री बन्नुपर्नेमा सबै एकमत नै रहेको उनको दाबी छ । ‘मुख्यमन्त्री बन्ने सवालमा माओवादी पार्टीमा सबै साथीहरू मप्रति सकारात्मक नै हुनुहुन्छ। हामी ८ जना जितेका छौं। बाँकी समानुपातिकमा पर्ने साथीहरू पनि सकारात्मक नै छन्,’ प्रदेशसभा सदस्य भट्टले भने, ‘संगठनात्मक हैसियत, राजनीतिक ऐतिहासिक निरन्तरता, अहिलेसम्म अवसरबाट वञ्चित भएको र अहिलेका चुनौती तथा कार्यभारलाई सम्हाल्नुपर्ने हिसाबले सबैले मेरो नेतृत्व नै उपयुक्त हुन्छ भनेका छन्।’

स्थायी समिति सदस्यसमेत रहेका भट्टले सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको नतिजा दुःखद् आएको स्वीकारे। यहाँ पार्टीले बेहोरेको हारको पूर्ण समीक्षा गरिने उनको भनाइ थियो।

प्रदेशसभाको हकमा भने अपेक्षाकृत नै नतिजा आएको उनले बताए । उनले कैलालीमा नागरिक उन्मुक्ति पार्टीको अभूतपूर्व उदयले सबै ठूला पार्टीलाई घाटा लागेको उल्लेख गरे ।

उनले सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने आफ्नो योजना रहेको पनि सुनाए। कृषिलाई गरिबी निवारणको हतियारको रूपमा प्रयोग गर्न आवश्यक रहेको उनले बताए।

सुदूरपश्चिम उद्योगधन्दाहरू सञ्चालन गरेर यहाँको गरिबी हटाउनतर्फ आफूहरू लाग्ने उनले दाबी गरे। अहिलेको गठबन्धनको निरन्तरता नै प्राकृतिक हुने उनको तर्क थियो ।

साभार  : थाहा खबर

Himal dental
सम्बन्धित
Loading...