बेदकोटका मेयर बोहराले छाडा चौपाया व्यवस्थापनमा समाते निवर्तमान मेयर चन्दको बाटो, विवाद चर्किएपछि दलका नेता राखेर कार्यालयमा पत्रकार सम्मेलन
महेन्द्रनगर । बेदकोट नगरपालिका मेयर भोजराज बोहराले पनि छाडा पशु चौपाया व्यवस्थापनमा निवर्तमान मेयर अशोक कुमार चन्दको बाटो समातेका छन् । उनले निवर्तमान मेयर चन्दको कार्यकाल सम्झाउने गरी छाडा पशु चौपाया आन्दोलन चर्किएपछि पत्रकार सम्मेलन गरेका छन् ।
बेदकोट नगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा पत्रकारसंगै राजनीतिक दलका नेता कार्यकर्ता सहभागी भएका छन् । मेयर उप मेयरसंगै दलका नेता पनि पत्रकार सम्मेलनमा अतिथि भएका छन् ।
बेदकोट नगरपालिकाका निवर्तमान मेयर चन्दले हात्तीथलामा व्यवस्थापन गरिएका छाडा पशु चौपाया मरेपछि बढेको विवादपछि होटल कलशमा पत्रकार सम्मेलन गरेका थिए । उनले एमालेका नेतालाई जिम्मेवारी दिएर व्यवस्थापन गरिएका गाई गोरु मरेपछि जगद्गुरु सहित धार्मिक व्यक्तित्वहरु वन क्षेत्रमा पुगेका थिए ।
छाडा चौपाया मरेपछि विवादित बनेपछि मेयर चन्दले पत्रकार सम्मेलन गरी स्थिति सम्हाल्ने प्रयास गरेका थिए । अहिलेका मेयर बोहरा पनि चन्दको शैलीमा पत्रकार सम्मेलन गरी अघि बढेका छन् ।
बेदकोटमा अहिले उप मेयर आवद्ध सहकारी संस्थालाई छाडा चौपाया व्यवस्थापनका लागि जनशक्ति र चारो व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । सहकारीसित १० लाखमा सम्झौता भएपछि बैतोडास्थित १२ बिगाहा जमिन भाडामा लिइएको छ ।
सहकारीले जमिन भाडामा लिएर प्रक्रिया अघि बढाएको बेला चुनेपानी क्षेत्रमा लगिएका गाई गोरुलाई स्थानीयले ढुङ्गामुढा गरी फर्काएपछि आन्दोलन चर्किएको छ । मेयर बोहरा बोहराले अल्पकालिन रुपमा राख्न पठाएका गाई गोरुलाई कार्यपालिका सदस्यले नै अवरोध गरी फिर्ता गरि दिएको स्थानीय बताउँछन् ।
आन्दोलन चर्किएपछि बोहराले बुधबार कार्यालयमा सर्बदलीय सर्वपक्षीय बैठक राखेका थिए । बैठक बस्ने भएपछि दिनभरि कार्यालयमा ठूलो मात्रा प्रहरी परिचालन गरिएका छन् ।