महेन्द्रनगर । सूर्योदय बहुउद्देश्यी सहकारी संस्था लि. कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन सिह धामीको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन गरिएको छ ।
सचिव धामीले साधारण सभा उद्घाटन गरे । उनले सहकारीका माध्यमबाट आर्थिक क्रान्ति अघि बढेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा गरिएको उद्घाटन सत्रमा भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट, नेफ्स्कुनका सञ्चालक माधव प्रसाद जोशी र सुदूरपश्चिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर चन्द विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा प्रमुख अतिथि धामी सहित विशिष्ठ अतिथि, भीमदत्त नगरपालिकाका सहकारी शाखाका प्रमुख बिमला भाट, राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका मेनेजर प्रकाश थपलिया, कञ्चनपुर उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष धर्म सिह रावल, सहकारीका सल्लाहकार विष्णुदत्त भट्ट, बाणिज्य संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल लगायतले शुभ कामना मन्तव्य राखे ।
उद्घाटन सत्रमा अध्यक्ष खरेलले वार्षिक प्रगति प्रतिवेदन, सचिव ध्रुबराज पण्डितले आर्थिक र लेखा समिति संयोजक सुरेन्द्र केसीले लेखा समितिको प्रतिवेदन पेश गरे ।
उद्घाटन सत्रपछि बसेको बन्द सत्रबाट प्रस्तुत गरिएका प्रतिवेदन सहित सहकारीको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ ।
२०६५ मा ३० जना शेयर सदस्यबाट झण्डै डेढ लाख शेयर पूँजी राखेर स्थापना गरिएको थियो । हाल सहकारीमा चार हजार एक सय १८ जना शेयर सदस्य पुगेका छन् । हाल सहकारीको शेयर पूँजी २ करोड ५५ लाख पुगेको छ ।
सहकारीले चालु आर्थिक वर्षको असार मसान्तसम्म १७ करोड ३१ लाख निक्षेप संकलन गरेको छ । यसैगरी असार मसान्तसम्म ७ करोड १६ लाख ऋण लगानी गरिएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित गरिएका छन् । ज्येष्ठ नागरिकद्वय मायादेबी भट्ट र मधुदेवी चन्दलाई सम्मान गरिएको छ ।
सहकारीले असल बचत कर्ता र असल ऋणीलाई पनि सम्मान गरेको छ । असल बचतकर्तामा पदम खरेल, कलावती भण्डारी, याना थापा, शारदादेबी उपाध्यय, रतन राना, भरत बहादुर देउवा र अविरल विष्ट सम्मानित भएका छन् ।
दिपक टेलर, टेक बहादुर खड्का, दिर्घराज भट्ट र सुर्जे सुनारलाई असल ऋणीका रुपमा सम्मान गरिएको छ । सहकारीको सभा कक्षमा गरिएको कार्यक्रमको सञ्चालन सचिव पण्डितले गरेका थिए ।