

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाकी पूर्वसदस्य दुर्गा विक दम्पती नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाकी पूर्वसदस्य रहेकी विक र उनका पति एकै दिन एमाले प्रवेश गरेका हुन् ।
माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान् रामबहादुर विक अब एमालेका नेता बनेका छन्। उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।


२०७४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी विक नेकपा विभाजनका वेला प्रदेशसभाकी प्रमुख सचेतक समेत बनेकी थिइन् । त्यसपछि एमाले विभाजनका वेला उनी एकीकृत समाजवादीतिर लागिन् । त्यहाँ उनले एकीकृत समाजवादीको प्रमुख सचेतक भएर काम गरिन्। त्यसपछि उनी संसदीय चुनावअघि नेकपा माओवादी केन्द्रतर्फ मोडिएकी थिइन् ।
भदौ ३१ मा उनी खुमलटार पुगेर माओवादी प्रवेश गरेकी थिइन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए ।
उनका श्रीमान् रामबहादुर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट अछामको पञ्चदेवल नगरपालिकाको मेयरका उम्मेदवार थिए । विक कांग्रेसकी अम्बिका चलाउनेसँग पराजित भएका थिए ।
