
भीम रावलको टिकट खोसेपछि लागेको सुदूरपश्चिमलाई हेपेको आक्षेप मेटाउने अध्यक्ष ओलीको प्रयास
मन्त्रिपरिषद्मा सुरुमै प्राथमिकता , बैतडीका भण्डारीलाई बनाइयो मन्त्री

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठनमा प्राथमिकता दिएर आफूमाथि लागेको सुदूरपश्चिमलाई हेपेको आक्षेप मेटाउने प्रयास गरेका छन् । अघिल्लो निर्वाचनमा आफैंले झण्डै दुई तिहाई सरकारको नेतृत्व गरी मन्त्रिपरिषद् विस्तार गर्दा समेत सुदूरपश्चिमलाई वेवास्ता गरेका अध्यक्ष ओलीले यस पटक सुरुमै बैतडीका दामोदर भण्डारीलाई मन्त्री बनाएका छन् । राष्ट्रपतिबाट शपथ खाएका भण्डारीको मन्त्रालय भने तोकिएको छैन ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अध्यक्ष ओलीले एमाले नेता डा. भीम रावलको टिकट खोसेपछि निर्वाचनभरि सुदूरपश्चिममा उनको चौतर्फी आलोचना भएको थियो । एमालेका निवर्तमान उपाध्यक्ष रावलको टिकट खोसिएको कारण सुदूरपश्चिममा एमालेले लज्जास्पद हार व्यहार्न पुगेको छ । सुदूरपश्चिममा एमालेले प्रतिनिधिका २ र प्रदेश सभाका ३ सीट मात्रै जितेको छ ।

अध्यक्ष ओलीले रावलसित व्यक्तिगत रिसिबी फेर्न क्षेत्र, जिल्ला र प्रदेश कमिटी हुँदै एमाले केन्द्रीय कमिटीमा पुगेको सिफारिश वेवास्ता गर्दै माओवादी छाडेर एमाले आएका झपट बोहरालाई प्रतिनिधि सभा सदस्यको टिकट दिएका थिए ।
अध्यक्ष ओलीले रावलको टिकट खोसेपछि उनको गृह जिल्ला अछाम सहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अध्यक्ष ओलीप्रति आक्रोश पोखिएको थियो । निर्वाचन प्रचारका क्रममा मंसिर १८ गते महेन्द्रनगर खुला मञ्चमा अध्यक्ष ओलीको भाषणका क्रममा रावलको टिकट खोसिएको भन्दै नाराबाजी भएको थियो ।
एमाले नेता रावलको टिकट खोसिएपछि आलोचित ओलीले आफूमाथि लागेको लाञ्छना हटाउन पहिलो चरणमै बैतडीका भण्डारीलाई मन्त्री बनाएका छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष भण्डारी सुदूरपश्चिममा सुरुदेखि ओली निकटका नेता हुन् ।
एमालेको बैतडी जिल्ला कमिटी सदस्य भएपछि उनी लगातार २८ वर्षदेखि ओली निकट छन् । त्यहीं भएर अध्यक्ष ओलीले सुदूरपश्चिममा भीम रावल कमजोर भएपछि भण्डारीलाई एमाले प्रदेश कमिटीको जिम्मेवारी दिएका छन् । उनी एमाले प्रदेश कमिटीका अध्यक्ष हुन् । अध्यक्ष ओलीका विश्वासपात्र भण्डारीले स्थानीय तह निर्वाचनमा उम्मेदवारका आकाँक्षीका नाम समेत बालकोट पुगाएर टुङ्गो लगाएका थिए ।
‘भीम रावलको टिकट खोसिएएपछि सबै जिल्लामा असन्तुष्टि परेको थियो, त्यसको असर नतिजा देखि सक्यो, यो सब अध्यक्षले रावलको टिकट खोसिएका कारण भएको हो भन्ने नेता कार्यकर्तामा छ, यसलाई चिर्न पनि जरुरी थियो’ एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले भने,‘यो असन्तुष्टि बढ्न नदिन पनि वहाँले पहिलो लटमै मन्त्रि बनाएको हुन सक्छ, यसबाट वहाँलाई सुदूरपश्चिमलाई हेपेको रहेनछ भनेर सन्देश दिन गरेको हुन सक्छ ।’
अध्यक्ष ओलीले सुदूरपश्चिममा संसद विघटन कमदको समर्थन गर्ने बाहेक अन्य सबै नेतालाई जिम्मेवारी विहिन बनाएका छन् । एमालेमा १० बुँदे सहमति गरी बसेका पूर्व माधव नेपाल समूहका नेताहरु पार्टीमा पदीय जिम्मेवारी बाहिर राखिएका छन् । उनले संसद विघटनमा साथ दिने माओवादी छाडेर एमाले भएका लेखराज भट्टलाई इन्चार्ज बनाएका छन् । अहिले इन्चार्ज भट्ट र अध्यक्ष भण्डारी सुदूरपश्चिम एमालेमा हर्ताकर्ता भएका छन् ।
सुदूरपश्चिममा भट्ट र भण्डारी दुबैले एमाले नेतृत्व सम्हालेपछि भएको स्थानीय तह निर्वाचन तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका दुबै निर्वाचनमा एमालेको खराब नतिजा आएको छ । बैतडीका भण्डारीले चुनाव जितेपछि इन्चार्ज भट्ट डोटीबाट झरेका काँग्रेसका बीर बहादुर बलायरसंग चुनाव हारेका छन् । एमालेलाई प्रतिनिधि सभाका दुई सीटमा पुगाएका भण्डारीलाई अध्यक्ष ओलीले पहिलो चरणमै मन्त्री बनाएका छन् ।
अध्यक्ष ओलीका विश्वासपात्र भण्डारी बैतडीमा भने जनाधार भएका नेताका हुन् । उनी २०७० देखि निरन्तर रुपमा चुनाव जित्दै आएका छन् । सुदूरपश्चिममा अध्यक्ष ओलीसम्म पहुँच हुने अधिकाँश नेताहरु कमजोर जनाधारका मानिन्छन् । अध्यक्षसम्म पहुँचका कारण उनीहरु चुनावमा टिकटदेखि राजनीतिक नियुक्ति र पार्टी संगठनका जिम्मेवारी पाउने गरेका छन् ।
मन्त्री भण्डारी अध्यक्ष ओलीसित नजिक भएर पनि बैतडीमा एमालेको राजनीतिमा सक्रिय भएका नेताका रुपमा परिचित छन् । उनले २०७० को निर्वाचनको नतिजाले बैतडीमा एमालेलेलाई पहिलो पटक जिताएका थिए ।
२०४८ देखि जीतविहीन रहेको बैतडीमा भण्डारीले एमालेको लागि एक क्षेत्र जिताए । पहिलो संविधानसभा सदस्यलाई हराएर पहिलो पटक दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भण्डारीले सोमबार दोस्रो पटक सिंहदरबारको यात्रा तय गरे ।
दोस्रो पटक एमालेबाट मन्त्री नियुक्त भण्डारी बैतडीमा तेस्रो पटक एमालेको तर्फबाट लगातार जित्ने एकमात्र नेता हुन् । २०७० सालका एउटा क्षेत्रमा जीत निकालेको एमालेले त्यसपछि २०७४ र २०६९ मा जिल्ला कब्जा ग¥यो ।
दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुँदा राज्यमन्त्रीको जिम्मेवारी पाएका भण्डारी अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फुल मन्त्रीमा नियुक्त भएका छन् । अघिल्लो पटक अर्थ राज्यमन्त्री भएका भण्डारीको यस पटक मन्त्रालय भने टुङ्गो लागेको छैन ।
अघिल्लो पटक अध्यक्ष ओली प्रधानमन्त्री भए पनि भण्डारी मन्त्री बनाएन । अध्यक्ष ओलीले संसद विघटन गरेर मन्त्री परिषद् विस्तार गर्दा समेत उनी प्राथमितमा परेनन् । दार्चुलाका गणेश ठगुन्ना, डोटीका प्रेम आले र कैलालीका नारदमुनी रानालाई अध्यक्ष ओलीले मन्त्री बनाएका थिए । त्यस अघि मन्त्रिपरिषद् गठनमा सुरुमा माओवादीका लेखराज भट्ट मन्त्री भएका थिए । त्यसपछि विस्तार हुँदा माओवादीकै विना मगर मन्त्री भएकी थिइन् । सुदूरपश्चिमका अधिकाँश स्थानमा जितेर पनि एमालेबाट मन्त्री नभएपछि त्यति बेला पनि अध्यक्ष ओलीको आलोचना गरिएको थियो ।
बैतडीको पाटन नगरपालिका–६ मा बुवा उदयसिंह र आमा कमलाका सुपुत्र भण्डारी २०३० साल कात्तिक २० गते जन्मिएका थिए । भण्डारीले १६ वर्षको उमेरबाट राजनीति सुरु गरेका हुन् ।
२०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका भण्डारी २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष हुँदै २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने ।
२०५४ सालमा जिल्ला कमिटी उपसचिव भएका भण्डारी २०५६ देखि २०६४ सम्म बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीका अध्यक्ष बने । २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी अहिले एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा छन् ।
अघिल्लो पटक सुदूरपश्चिममा ११ क्षेत्र जितेको एमाले अहिले २ क्षेत्रमा सीमित भएको छ । भण्डारीको काँधमा पार्टी बलियो बनाउनेमात्रै होइन सरकार दरिलो बनाउने जिम्मेवारी पनि आएको छ ।
उनलाई नजिकबाट नियालिरहेका निवर्तमान प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य लीलाधर भट्ट भण्डारीमा काम गर्ने योजना र दृढ इच्क्षा शक्ति भएको बताउँछन् ।
