ghar sansar

पोषण पुनस्र्थापन गृहले दियो दुई हजार बढी बालबालिकालाई पुर्नजीवन

प्रबन्धक भट्ट भन्छिन्– गृह नभएको भए शायद मर्थे होला, निको भएर गए

गोमती पाल
महेन्द्रनगर । डडेल्धृुराको परशुराम नगरपालिका ८ जमडानीकी जानकी धामीका १३ महिने छोरा मिन्सको मुखबाट एक महिना अघि एकाएक फिँज निस्कन थाल्यो । दुई वर्ष अघि विवाह भएकी धामी छोराको मुखबाट फिँज निस्केपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल आइन् ।

अस्पतालमा उनको तौल बढेको, उमेर पुड्को देखिएको र हर्मोनमा गडबढी भएको देखिएपछि उनलाई पोषण पुनस्र्थापन गृहमा रिफर गरिएको थियो । त्यसपछि उनी एक महिनादेखि छोरासित गृहमा बसेकी छन् । पोषण पुनस्र्थापन गृहबाट डिस्चार्ज भएपछि उनी छोरालाई लिएर घर फर्किने बताउँछिन ।

‘मुखबाट फिँज निकालेपछि अस्पताल ल्याएकी हुँ, अस्पतालबाट यता पठाइयो, अहिले ३० दिन जति भयो’ उनले भनिन्,‘ अहिले त पहिला भन्दा ठिक भई सक्यो, मैले पनि यता बसेर खानपिन र सरसफाई सम्बन्धी धेरै कुरा सिके ।’

गृहमा अहिले मिन्स सहित ८ बालबालिका भर्ना छन् । हालसम्म दुई हजार एक सय ४२ बालबालिका गृहबाट निको भएर घर फर्किएका छन् । दुई हजार एक सय ५० बालबालिकाका गृहमा भर्ना भएका छन् ।

‘यो पुनस्र्थापन गृह सञ्चालनमा आएदेखि २१ सय ५० बालबालिका हामी कहाँ आएका छन्, तीमध्ये २१४२ निको भएर घर फर्किएका छन्’ पोषण पुनस्र्थापन गृहका प्रबन्धक इन्द्रा भट्टले भनिन्,‘८ जना उपचारका लागि भर्ना नै छैन्, उपचारपछि उनीहरु पनि जान्छन्, नयाँ बालबालिका थपिँदै जान्छन् ।’

महाकाली प्रादेशिक अस्पताल मातहतको पोषण पुनस्र्थापन गृह कुपोषित बालबालिकालाई पुनःजीवन दिने र अभिभावकहरुलाई स्वास्थ्य शिक्षा दिने उद्देश्यले १६ वर्ष अघि सञ्चालन गरिएको थियो ।

गैर सरकारी संस्था रुडुकले नेपाल युथ फाउण्डेसनको सहयोगमा तत्कालिन महाकाली अञ्चल अस्पतालसित सहकार्य गरी २०६३ मा पोषण पुनस्र्थापन गृह सञ्चालन गरेको थियो । संस्थाले पाँच वर्ष गृह सञ्चालन गरेपछि २०६८ मा महाकाली अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

‘कुपोषित बालबालिकाकालाई पुनः जीवन दिन र उनीहरुका अभिभावकहरुलाई स्वास्थ्य शिक्षा दिने उद्देश्यले २०६३ मा रुडुकले अस्पतालसित सहकार्य गरी पोषणा पुनस्र्थापन गृह सञ्चालन गरेको थियो, पाँच वर्षसम्म संस्थाले चलाएपछि २०६८ मा अस्पतालालाई हस्तान्तरण गरिएको हो’ प्रबन्धक भट्टले भनिन्,‘अहिले यसको सबै खर्च सरकारले व्यहोर्छ, त्यस कारण बच्चा र आमा अभिभावकले केही पनि खर्च तिर्नु पर्दैन ।’

पोषण पुनस्र्थापन गृहमा भर्ना भएका सबै बालबालिकाले पुनःजीवन पाएकोमा प्रबन्धक भट्टले खुसी व्यक्त गरिन् । ‘अहिले हामी १६ वर्ष पूरा गरी १७ आंै वर्षमा जाँदैछौ, यदि यो गृह हुँदा यी दुई हजारले पुनःजीवन पाएका छन्, कुपोषणले गर्दा मर्थे, निको भएर गए ।’

गृहले १७ औं प्रवेश अवसरमा पुस अन्तिम साता गर्ने कार्यक्रममा उपचार गरिएका बालबालिकालाई समेत आमन्त्रण गर्ने तयारी गरिएको छ । ‘सुरुको वर्ष २०६३ मा भर्ना भएको एक भाई १२ मा पढ्छ, सम्पर्क भाको छ, अरु त सबै सम्पर्कमा छैनन्’ उनले भनिन्,‘सम्पर्कमा भए जतिलाई आमन्त्रण गर्ने सोचाइमा छौ ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गृहमा कुपोषित बालबालिकालाई भर्ना गरी उपचारपछि घर पठाउने गरिएको छ । मापदण्ड अनुसार भर्ना भएका ५ वर्ष मुनिका बालबालिका र तिनका अभिभावकलाई ३५ दिनसम्म निःशुल्क रुपमा गृहमा राख्ने गरिएको छ । त्यसरी राखिएका बच्चालाई गृहमा पोषिलो खानेकुरा खुवाउने र आवश्यकता अनुसार उपचार गर्ने गरिएको छ ।

‘डब्लुएचको मापदण्ड अनुसार बच्चालाई दिन्छौ, त्यसका अनुसार उमेर अनुसारको तौल, उचाई लगायतका कुरा हेरिन्छन्, जस्तो एक वर्षको बच्चाको तौल १० किलो नभए त्यो मापदण्ड अनुसार कुपोषित हुन्छ, १० किलो भन्दा तल तौल हुने बच्चा यसमा पर्छन्’ प्रबन्धक भट्टले भनिन्,‘आमा र बच्चा दुबैलाई निःशुल्क राखिने हो, बच्चालाई पोषिलो खानेकुरा खुवाउँछौ, त्यसमा दैनिक दुध, अण्डा र हप्तामा एक पटक मासु लगायतका पोषिलो खानेकुरा खुवाउँछौ ।’

प्रबन्धक भट्टका अनुसार ६ महिना कम उमेरका बालबालिकालाई दैनिक दुध र त्यो भन्दा माथिकालाई ६० प्रतिशत दुध र ४० प्रतिशत मासु खुवाउने गरिएको छ । त्यस बाहेक २ देखि ३ घण्टाको अन्तरमा खाना खुवाउने गरिएको प्रबन्धक भट्ट बताउँछिन् ।

पोषण गृहमा हालसम्म कडा र मध्यम दुबै खालको कुपोषणा भएका बालबालिका भर्ना भएका छन् । उनीहरुमध्ये कडा खालको कुपोषण भएका बालबालिकालाई विशेष निगरानीमा राखिने गरिएको छ । उनीहरुको चिकित्सक र स्वास्थ्यमकर्मीको निगरानीमा उपचार हुने गरेको छ ।

पोषण पुनस्र्थापन गृहका १० शैय्या छन् । प्रबन्धक भट्ट कहिलेकाँही सबै शैय्या भरिएर ठाउँ नपुग्ने समस्या आउने गरेको बताउँछिन् । ‘१० बेड छन्, कहिलेकाँही ती सबै फूल भएपछि अप्ठेरो नि हुन्छ, बेड नपुग्दा अरु व्यवस्था गर्नु पर्छ’ उनले भनिन्,‘रिफर भएका फर्केर आउन सक्छन् ।’

पोषण गृहमा भर्ना गरिएका बालबालिकाका घर परिवारका सदस्य पनि दैनिक रुपमा सोधपुछका लागि आउने गरेका छन् । दैनिक त्यसरी आउने ६÷७ जनालाई परामर्श दिएर फर्काउने गरिएको प्रबन्धक भट्ट बताउँछिन् ।

पोषण पुनस्र्थापन गृहमा प्रबन्धक भट्ट सहित ९ जना कर्मचारी छन् । त्यसमा ४ जना नर्स अनमी र ३ जना कुक सहितका छन् । बालबालिकाको उपचारमा अस्पतालका चिकित्सकले गर्दै आएका छन् ।

कोभिड महामारी संक्रमणका ६ महिना पोषण पुनस्र्थापन गृह बन्द भएको थियो । त्यस बाहेक अहिलेसम्म निरन्तर सेवा दिएको छ । ‘त्यो बेला यसै भवनमा कोभिड उपचारका लागि कोभिड वार्ड बनाइयो, त्यो बेला मात्रै बन्द भयो, अरु बेला त कहिले पनि भएको छैन’ प्रबन्धक भट्ट भन्छिन् ।

पोषण पुनस्र्थापन गृहले कुपोषित बालबालिकालाई गृहसम्म पुगाउनका लागि सार्वजनिक सूचना प्रवाह र स्वास्थ्यकर्मी सहित विभिन्न क्षेत्रका व्यक्तिसित समन्वय गर्दै आएको छ । डडेल्धुराको परशुराम नगरपालिकाकी जानकी धामी पनि सार्वजनिक रुपमा प्रवाह गरिएको सूचनाबाट आफूले पोषणा पुनस्र्थापन गृहबारे थाहा पाएको बताइन् ।

केन्द्रकी प्रबन्धक भट्ट उमेरमा विहे र अभिभावकले बालबालिकाको खानपिनमा ध्यान नदिँदा कुपोषण समस्या बढी देखिएको बताउँछिन ।

‘सानै उमेरमा विहे, जसका कारण बच्चा नजन्मिदैँ पेटभित्र कुपोषित हुने गर्छन्, अर्को कुरा खानपिनमा ध्यान दिएको पाइदैन’ उनी भन्छिन्,‘गरीबी कारण पनि छन्, तर त्यो थोरै मात्र छ ।’

Himal dental
सम्बन्धित
Loading...