महेन्द्रनगर । नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । आज बुधबार सो पार्टीको प्रदेश समितिले शुरु गरेको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेस स्रोतका अनुसार विहानसम्म केन्द्रीय सभापति शेर बहादुर देउवाका सहोदर भतिजा प्रकाश बहादुर देउवा निर्विरोध हुने सम्भावना थियो । तर सभापति देउवाले प्रकाशलाई पछि हट्न भन्दै शाहलाई दलको नेता बनाउन निकटस्थहरुलाई निर्देशन दिएका थिए ।
शाह हालै मात्र कांग्रेसको कैलाली जिल्लाको सभापतिको चुनावको क्रममा सभापति देउवा निकट भएका हुन । यस अघि उनी नेता प्रकाशमान सिंह निकट मानिन्थे ।
दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुर सिंह थापा, दिवान सिंह विष्ट, मान बहादुर रावल, शिवराज भट्ट र मेघराज खड्का लगायतले आकांक्षा देखाएका थिए । सुदूरपश्चिममा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। काँग्रेस प्रदेश सभामा ठूलो दल हो ।