
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि माओवादीको दौडधुप, मुख्यमन्त्रीका दाबेदार सहित नेताहरुले दिए प्रधानमन्त्रीलाई दबाव

महेन्द्रनगर । सुदूरपश्चिमको मुख्यमन्त्रीको मागसहित माओवादी केन्द्रका नेता काठमाण्डौँ पुगेका छन् । उनीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दालह (प्रचण्ड)लाई भेटेका हुन् । बिहीवार माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर सत्तागठबन्धनको बैठकमा सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने गरी अडान लिन आग्रह गरेका छन् ।
प्रचण्डलाई भेट्न माओवादी सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इञ्चिार्ज खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल) र पार्टीको प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ बालुवाटार पुगेका हुन् । तर प्रचण्डले भने अहिले नै कसको भागमा सुदूरपश्चिम पर्ने भन्नेबारे बताउन नसकिने उनीहरुलाई बताएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादी दोहोरीने दाउमा छ । सुदूरपश्चिममा माओवादीका संसदीय दलको नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने दाउमा पार्टी लागेको हो । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि माओवादीका नेता हुन्। उनी पूर्ण कार्यकाल सुदूरपश्मुचिमको मुख्यमन्त्री भएका छन् ।
प्रदेशमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्य छन् । राप्रपा एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यसमेत सुदूरपश्चिम प्रदेश सभामा छन्। नेपाली काँग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन् ।
तर काँग्रेस सत्ता समिकरणबाट बाहिरीएको छ । सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टीको मुख्यमन्त्रीमा दाबी छ ।
