
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ खाएपछि मुख्मन्त्री रावलले बिहीबार नै पदभार सम्हालेका छन् ।
उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् । यसैगरी माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।

एमाले संसदीय दलका उप नेता थापा कैलालीबाट समानुपातिक साँसद भएकी हुन् । अर्का मन्त्री भट्ट भने डडेल्धराबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनी मुख्यमन्त्रीका आकाँक्षी हुन् ।
काँग्रेससितको गठबन्धन भत्किएर एमालेसित नयाँ सत्ता समीकरण भएपछि उनी मन्त्री हुन पुगेका छन् । एमाले र माओवादीबीच मुख्यमन्त्रीमा आधा आधा कार्यकाल गर्ने सहमति अनुसार एमालेका रावल मुख्यमन्त्री भएका छन् । रावलको अढाई वर्षे कार्यकालपछि भट्ट मुख्यमन्त्री हुने भएका छन् ।
एमालेबाट मुख्यमन्त्री भएका रावल समानुपातिक साँसद हुन् । मुख्यमन्त्री रावलले मन्त्रीमा पनि समानुपातिक साँसदलाई नै प्राथमिकता दिएका छन् । सुदूरपश्चिममा एमालेका १० साँसद साँसदमध्ये तीन जना बाहेक सबै समानुपातिकबाट आएका छन् ।
कञ्चनपुरका बीर बहादुर थापा, डोटीका चक्र मल्ल र बैतडीका सुरेन्द्र बहादुर पाल मात्रै एमालेमा प्रत्यक्षबाट निर्वाचित साँसद हुन् । त्यस बाहेक मुख्यमन्त्री र मन्त्री भएका सहित अन्य ७ जना समानुपातिक साँसद हुन् ।
मुख्यमन्त्री रावल रावल बुधबार एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
सपथ ग्रहणलगत्तै मुख्यमन्त्री रावलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले शासकीय सुधारको पहिलो निर्णय गरेका छन् ।
उनले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजा मूलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।कार्यदलमा सबै मन्त्रालयका सचिवहरू सदस्य रहनेछन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।
