
महेन्द्रनगर । महेन्द्रनगरमा शनिबारदेखि स्टार प्रोडक्सनको आयोजनामा कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रतियोगिता उद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै उनले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादनमा योगदान पुग्ने बताए । ‘सुदूरपश्चिम क्रिकेटका स्टार खेलाडी उत्पादन गर्ने थलो हो,’ उनले भने, ‘प्रदेश सरकार खेलकुद र खेलाडीको विकासका लागि गम्भीर छ।’ मुख्यमन्त्री रावलले जिल्ला स्तरका मात्रै नभएर प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाका लागि पनि अघि सर्न आयोजकलाई सुझाव दिए ।

कार्यक्रममा मुख्यमन्त्री रावलले क्रिकेट सुदूरपश्चिमको पहिचान बन्दै गएको र यस खेलको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘यसका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको छ’ उनले भने ।
मुख्यमन्त्री रावलले ब्याटिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए। मन्त्र हस्पिटल मुख्य प्रायोजक रहेको कर्पोरेट प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ ।
चौथोे सिजन अन्तर्गत सञ्चालन भइरहेको उक्त प्रतियोगिता हरेक शनिबार बिदाका दिन मात्रै खेलाइनेछ। प्रतियोगिताको विजेता टीमले १ लाख ११ हजार र उप विजेता टिमले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। फागुन ३ मा प्रतियोगिताको समापन गरिनेछ ।
