महेन्द्रनगर । नागरिक उन्मुक्ति सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काठमाडौैस्थित डिल्लीबजार कारागारमा बुधबार बसेको बैठकले यस्तो निर्णय हो ।
उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच विहानदेखि भएको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले मत नदिने निर्णय गरेको हो ।
नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावल संकटमा परेका छन्। उनले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
पार्टीका संरक्षक रेशम चौधरीसहितका राजबन्दीको रिहाको प्रक्रियासमेत सुरु नभएको भन्दै नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा गत पुस २७ गते नियुक्त भएका थिए। काँग्रेसमा १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु प्रदेश सरकारको बिपक्षमा छन् ।