महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलका हैसियतले काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसैगरी सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण शुक्रबार हुने जानकारी छ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीवार साँझ मुख्यमन्त्रीमा नियुक्त गरे । विश्वासको मत नपाएपछि बिहीवार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए ।
रावल नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बनेका थिए । उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल आजै पदमुक्त भएका हुन् ।
अहिले मुख्यमन्त्री नियुक्त शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनले १० हजार ४३३ मत ल्याएका थिए । काँग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन् । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।
प्रदेशसभामा नेपाली काँग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४‚ राप्रपाका १ सांसद र एकजना स्वतन्त्र छन् ।
संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका थिए ।
धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।