महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) महेन्द्रनगर आउने भएपछि कबर्ड हल सडक खण्ड मर्मत गरिएको छ । सडकमा वर्षाैदेखि परेका खाल्डाखुल्डी ग्राभेल हालेर पुरिएका छन् ।
प्रधानमन्त्री दाहाल खुला मञ्चमा १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटनका लागि आउन लागेका छन् । प्रधानन्त्री आउन अगावै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय हुँदै कबर्ड हल सडकका खाल्डाखुल्डी पुरिएका छन् । सडकमा परेका एक दर्जन भन्दा बढी खाल्डाखुल्डी पुरिएका छन् ।
भीमदत्त नगरपालिकाले दुई वर्ष अघि ग्राभेल हालेर सडकका खाल्डाखुल्डी परेका थिए । यस सडकमा दैनिक रुपमा महाकाली नदीमा ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री बोक्ने सवारी गुड्ने गरेका छन् । ठूला सवारीका कारण सडकमा भत्किएर खाल्डाखुल्डी परेका हुन् ।
दुई वर्ष फेरि नगरपालिकाले ग्राभेल गरी खाल्डाखुल्डी पुरिएका छन् । खाल्डाखुल्डी पुरिएपछि कबर्ड हलमा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड शिल्ड शिल्ड प्रतियोगितामा सहभागीहरुलाई समेत सहज भएको छ ।
प्रधानमन्त्री दाहाल धनगढीबाट महेन्द्रनगर आएर ठूला विकास योजनाको निरीक्षण गरी महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री दाहालका स्वकीय सहसचिव गोकर्ण भट्टले बताए ।
‘प्रधानमन्त्री ज्यूले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात सुदूरपश्चिमबाट गर्दै हुनु हुन्छ,’ उनले भने, ‘भोलि दिनभर कैलाली–कञ्चनपुरमा बिताएर बेलुका काठमाडौँ फर्किनु हुन्छ ।’
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले सुदूरपश्चिमका शीर्ष नेता र सांसदहरुले भेटेका थिए। दाहालले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता पनि जनाए ।
उनले अगामी मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गर्ने समेत सुदूरपश्चिमका सांसद र शीर्ष नेताहरुलाई बताए । कञ्चनपुर आएपछि प्रधानमन्त्री दाहाल कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको स्थान निरीक्षण गर्ने कार्यक्रम छ ।
त्यसपछि बिहान ११ः३० मा महेन्द्रनगरको खुलामञ्चमा हुने १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन् ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न दाहाल सो कार्यक्रममा पुग्ने छन्। एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर दाहाल भोलि नै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।