महेन्द्रनगर । खुला मञ्चमा सुरु १४ औं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन कार्यक्रमा एमालेका दुई मन्त्रीसंगै कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट पनि हेपिएका छन् ।
मेला आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघले एमालेका निवर्तमान साँसद भट्टलाई आशन समेत ग्रहण गराउन नसकेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा उपस्थित भएर सुरु भएको केही समयपछि भट्ट मञ्चमा प्रवेश गरेका थिए ।
निवर्तमान साँसद भट्टपछि मञ्चमा प्रवेश गरेका अन्यलाई भने आशन ग्रहण गराइएको थियो । कार्यक्रम सुरु हुन अघि बहालवाला र पूर्व सबै साँसदललाई आशन ग्रहण गराए पनि साँसद भट्टलाई आशन ग्रहण गराएन ।
संघले उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य, निवर्तमान साँसद र त्यसपछि मात्रै बहालवाला साँसदलाई आशन ग्रहण गराएको थियो ।
एमालेका निवर्तमा साँसद भट्ट २०७४ को निर्वाचनमा निर्वाचित भएका हुन् । मझगाउँ विमानस्थल सञ्चालन, सुख्खा बन्दरगाहको स्थान विवाद, महाकाली कोरिडोर, महाकाली नदीको चार लेन र पुलको पहुँचको मार्गका लागि जग्गा अधिग्रहणका कार्य साँसद भट्टले गरेका थिए ।
कैलालीको गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउने अभियान सञ्चालन गरी उनले सरकारबाट निर्णयसम्म गराएका छन् । प्रधानमन्त्री दहालले महेन्द्रनगर आउन अघि आइतबार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेका हुन् ।
संघको महोत्सव उद्घाटन कार्यक्रममा मन्त्री दामोदर भण्डारी र स्वास्थ्य मन्त्री पदम गिरीलाई मन्तव्य नै राख्न दिइएन । मन्तव्य राख्न नदिएपछि मन्त्री भण्डारीले संघको मायाको चिनो र खादा मञ्चमा छाडेका छन् ।