
प्रधानमन्त्री दाहाललाई उद्यमी व्यवसायीले बुझाए ९ बुँदे मागपत्र, पाठक भन्छन्– यी माग पूरा भए समृद्ध सुदूरपश्चिमको परिकल्पना साकार हुन्छ
सुख्खा बन्दरगाह, मझगाउँ विमानस्थ, छेला औद्योगिक क्षेत्र सञ्चालन लगायतका माग

महेन्द्रनगर । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशका आर्थिक विकाससित जोडिएका विभिन्न ठूला योजना निर्माण कार्य पूरा गराउन उद्यमी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग पत्र बुझाएका छन् ।
१४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटनका लागि महेन्द्रनगर आएका प्रधानमन्त्री दाहाललाई उद्घाटन कार्यक्रममा माग पत्र बुझाइएको हो ।

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी र ज्ञापन पत्र तयारी समितिका संयोजक कृष्ण प्रसाद पाठकलले हस्ताक्षर गरिएको मागपत्रलाई सोमबार पाठकले उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् ।’
प्रधानमन्त्रीज्यू आउनु हुने कार्यक्रम भएपछि कञ्चनपुर मात्रै होइन, सुदूरपश्चिम क्षेत्रको आर्थिक विकासमा फड्को मार्ने सहितका योजना सम्बन्धी छलफल गरी ज्ञापन पत्र तयार गरेका हौ’ ज्ञापन पत्र तयारी समितिका संयोजक पाठकले भने,‘आज प्रधानमन्त्रीज्यूलाई बुझाएका छौ, वहाँले यी माग पूरा गर्नु हुनेमा हामी विश्वस्त छौ ।’
प्रधानमन्त्री दाहाललाई बुझाईएको ९ बुँदे माग राखिएका छन् । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह छिटो सञ्चालन गरी ट्रेड फ्रि जोनका रुपमा विकास गर्न माग गरिएको छ ।
कोभिडका कारण धराशायी उद्यमी व्यवसायीका लागि राहत कार्यक्रम सञ्चालन गरिनु पर्ने, महाकाली कोरिडोर सम्पन्न गर्नु पर्ने, छेला औद्योगिक क्षेत्रको भोगाधिकार दिएर निर्माण कार्य सुरु गरिनु पर्ने, चिसापानी गड्डाचौकी सडकलाई ६ लेन बनाउनु पर्ने र मझगाउँ विमानस्थल सञ्चालन गर्नु पर्ने माग राखिएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन विकासका लागि पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिनु पर्ने तथा महाकाली नदीको शारदा व्यारेज दिनभरि खुला राख्नका लागि भारतीय पक्षसित संवाद गर्न पर्ने माग गरिएको छ ।
महोत्सव उद्घाटन कार्यक्रममा बाणिज्य संघले प्रधानमन्त्री दाहाललाई अभिनन्दन गरेपछि माग पत्र बुझाएको हो । प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनका क्रममा उद्यमी व्यवसायी माग पूरा गर्न प्रतिवद्ध भएको उल्लेख गरे ।
ज्ञापन पत्र तयारी समितिका संयोजक पाठकलले प्रधानमन्त्री दाहाललाई बुझाएको माग पूरा भएमा सुदूरपश्चि प्रदेशमा आर्थिक क्रान्ति आउने विश्वास व्यक्त गरे ।
‘समृद्ध सुदूरपश्चिमको परिकल्पनालाई प्रधानमन्त्रीज्यूलाई बुझाएको मागले साकार पार्ने विश्वास लिएका छौ’ उनले भने ।
प्रधानमन्त्री दाहालले यस अघि पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ खुला मञ्चमा महोत्सव उद्घाटन गरेका थिए ।
त्यसको १४ वर्षपछि दाहालले फेरि महोत्सव उद्घाटन गरेका छन् । उद्घाटन अघि उनी सुख्खा बन्दरगाह, महाकाली नदीको पुल लगायतका विकास योजनाको स्थलगत निरीक्षण गरी जानकारी लिएका छन् ।
