बैतडीमा स्वास्थ्यका कार्यालयका हाकिम स्थानीय सरकारमाथि सार्वजनिक कार्यक्रममै खनिए, भने–स्वास्थ्य सेवा दिन सकेका छैनन्, संघ सरकारको मुख हेरेर बसेका छन्
महेन्द्रनगर । बैतडी स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्ट स्वास्थ्य सेवा प्रदान गर्न नसकेको भन्दै स्थानीय सरकारमाथि खनिएका छन् । जिल्ला समन्वय समितिको सहकार्यमा पश्चिम टुडे दैनिकले गरेको कार्यक्रममा उनी स्थानीय सरकारले अझै पनि संघीय सरकारको मुख ताक्ने प्रवृत्ति देखाएको उल्लेख गरे ।
‘आधारभूत स्वास्थ्य हेर्ने जिम्मा स्थानीय तहको हो, तर त्यस अनुसार स्थानीय सरकारहरुले स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन’ कार्यक्रममा उनले भने,‘अझै पनि स्वास्थ्यका लागि संघीय सरकारको मुख ताक्ने प्रवृति छ ।’
संघीय शासन व्यवस्था लागू भएपछि स्वास्थ्यको अधिकार स्थानीय तहलाई दिइएको छ । स्वास्थ्य कार्यालयले स्थानीय सरकारसित समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएको छ ।
कार्यक्रममा जिल्ला अस्पताल बैतडीका डा. सुनिल जैसवालले अहिले पनि जिल्ला अस्पताल करार चिकित्सकको भरमा सञ्चालन भइरहेको बताए ।
बैतडीको विकास र सम्वृद्धिका आधारका विषयमा गरिएको कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले झुलाघाटमा मोटरेबल पुल बन्न सकेमा यो क्षेत्रको विकासको ढोका खुल्ने बताए ।
दुई बर्ष अगाडि ४० लाख रुपैंया खर्च गरेर प्रदेश सरकारले यो क्षेत्रमा भएको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बनाएको भए पनि त्यसको कार्यान्वयन नभएको उनको भनाई थियो ।
बैतडीमा फस्फोरस, फलामखानी,चुनढुंगा लगायत बहुमुल्य जडीबुटी उद्योगको सम्भावना रहेको भएपनि राज्यले त्यस्ता बिषयहरुको खोजी नगरेको पत्रकार गोकर्ण दयालले बताए ।
कार्यक्रममा बैतडीको फस्फोरस खानीदेखि फलामखानी, चुनढुङ्गा, क्यान्सर रोग निको पार्ने बहुमुल्य जडिबुटी उद्योगको संभावना भए पनि उद्योग सञ्चालन गर्न राज्यबाट सम्बोधन नभएको सरोकारवालाले बताएका छन् ।
नागरिक समाज बैतडीका सचिव प्रकाश चन्दले शिक्षा,स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता आधारभूत कुरामा नागरिकको पहुँच नहुँदा समस्या भएको बताए ।
विकासका सम्भवना भएपनि नेता र कार्यकर्तामुखी बजेटका कारण नागरिक समस्या समाधान नभएका उनले बताए । विकासका लागि समन्वय र साझेदारीको आवश्यकता रहेको भएपनि त्यसो पनि हुन नसकेको उनले औंल्याए ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले अनुत्पादक क्षेत्रमा राज्यको लगानि भइरहेको बताए । यो क्षेत्रमा भएको वनजंगलबाट लाभ लिने प्रकारका कार्यक्रम राज्यले सञ्चालन गर्न नसकेको उनको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले स्थानीय सरकारहरुले नागरिकको आवश्यता अनुसारको काम अझै गर्न नसकेको बताए ।