
सुुदूरपश्चिमका मुख्यमन्त्रीलाई मध्यावधि चुनावमा लखेटिने चिन्ता, भन्छन्–चुनाव कुनै दल अथवा जनताले चाहेका छैनन्, जनताले लखेट्छन्

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताए ।
‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उनले भने, सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन ।’

यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे । ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्। फेरि चुनावमा गए जनताले लखेट्छन्’, उनले भने ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए ।
त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् ।
