ghar sansar

राष्ट्रपति चयनका लागि मतदान सुरु, नेम्बाङ्ग र पौडेल प्रतिस्पर्धी

महेन्द्रनगर । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहने छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु पर्छ । ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ तय भएको छ ।

पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ चाहिन्छ । यसमा मृत्यु भएकी जसपा सांसद सहनाज रहमानको पनि मतभार जोडिएको छ ।

Himal dental
सम्बन्धित
Loading...