
–डा. पदमराज कलौनी
लागि ग्यो चैतको मैना न्याउली बासली ।

सबैका भेटन् आउन्ना मुइँ सोराई लागली ।।
समयसँगै प्रकृति परिवर्तन हुन्छ । मानव जीवनमा पनि समय एकनास रहँदैन। कहिले सुखको आनन्द, कहिले दु:ख र उदासीनताले घेरिएको हुन्छ । जन्म-मृत्यु, उदय-पतन, आगमन-निर्गमन आदिले परिवर्तनलाई व्यक्त गर्दछ।समय आउँछ र जान्छ । कहिले राम्रो हुन्छ । कहिले नराम्रो हुन्छ । यहीँ राम्रो नराम्रोको चपेटामा मान्छेको जीवन चलिरहेको हुन्छ । अप्ठ्यारो परिस्थितिको सामना गर्दा चिन्तित हुन्छ । दुःखको अनुभूति गर्छ । पीडाबोध गर्छ । अत्तालिन्छ ।
माथि उद्धृत गरिएको लोकगीत गाउँपाखामा गाइने पारम्परिक गीत हो । कोही कसैका लागि अहिलेको परिवेशमा उपयुक्त नहुन सक्छ । परिवर्तनरुपी पखेटाले उडाएका साँस्कृतिक बाछिटाहरुको सहाराले कोही सहरीया भएका होलान, कोही डिभि, पिआर आदिको सहाराले विदेशी भूमिमा श्रम गरिरहेका होलान् । परिवर्तित परिस्थितिमा परम्परागत वनपाखामा गाइने साँस्कृतिक पर्वको मर्म सबैलाई समान रुपले हृदयलाई छुन सक्छ भन्नु छैन । आधुनिक युगमा पारम्परिक अवस्थाबाट महिलाको जीवनस्तर माथि उठेको छ । कयौं कमाउने भएका छन् । माइतीले भेटेर गर्जो टारिदेलान भन्ने अवस्था नहुन सक्छ । भेटघाट गर्न चैत कुर्नुपर्ने बाध्यता पनि छैन होला । गोरीधानाझैँ बाह्रवर्षसम्म माइतीबाट वेखबर हुनु पर्ने अवस्थामा कमै होलान् । सञ्चारको सुविधामा भएकाहरुको मुठ्ठीमा संसार छ । चाहेको समयमा वार्तालाप गर्न सक्छन् ।
चैतालोको मर्म र धर्म कोही कसैलाई अनावश्यक लाग्न सक्छ । राजनीतिक परिवर्तनले ल्याइदिएको “अधिकारको बाढी”मा पारम्परिक रीतिथितीलाई लिङ्ग केन्द्रीत गर्दा अधिकार माथिको ठाडो हस्तक्षेपभयो भन्ने आरोप लगाउन सकिन्छ । मानिसका पारम्परिक सामाजिक रहन सहन, लवाइखवाइको सट्टा नयाँनयाँ तरिका, साधन, उपकरण, शिल्प आदिको प्रयोग खुल्लम खुला भैरहेको छ । खोज र प्रगतिको सकरात्मक पक्षले मानिसलाई नयाँ सभ्यताको संघारमा उभ्याइ दिएको छ । मानिसको बाह्य र आन्तरिक स्थितिलाई सुसंस्कृत र परिष्कृत रुपलाई संस्कृति भनिन्छ ।मानिसको बाह्य र आन्तरिक विचार, भावना, परम्परा, कल्पना, चेष्टा, आदर्श आदि सन्निहित हुन्छन् ।जबसम्मसंस्कृति छ तबसम्म आश छ । संस्कृति बिनाको मानव बिनास छ भन्ने विचारलाई मनन चिन्तन गर्दै चैतालोका बारेमा लेख्ने जमर्को गरिएको छ । मानसी संस्कृति सभ्यताको मूल जरो हो । यसले आदिम र आधुनिकतालाई जोडेको छ । संस्कृतिमा हुने परिवर्तनशील गुणले मानिस ज्ञान-विज्ञान, समाज, धर्म, साहित्य, कला, दर्शन र चिन्तन तर्फ अग्रसर हुँदै आएको छ । मानिसका समस्त क्रिया, व्यवहार, उत्पादन, परिष्कार र उन्नति मिलाएर नै संस्कृतिको जन्मेको हो ।
चैत्र महिनामा दिदी-बहिनीको घर (ससुराली) मा गएर दिइने कोसेलीलाई चैतालो वा चैतलो वा चइतालो वा भिटौलो भनिन्छ । चैत+आलो । चैत= चैत्र महिना । आलो= सम्झनाले सताइनुलाई आलो (ताजा) भनिन्छ । अर्थात् यादले सताउनु । सोराइले मन-मुटुमा पीडा भैरहने हुँदा “आलो”लाई विम्बको रुपमा लिइएको छ । छरछिमेकमा चैतालो(भेट्न) आइसके पछि माइतीको प्रतिक्षामा बसेकी छोरीको पीडालाई लोककथा र लोकगीतका अनेकन प्रसङ्गले कोट्याएको पाइन्छ । भाइसँग भेट हुने आशमा बसेकी दिदी-बहिनीको वेदनालाई “आलो घाउ”को रुपमा लोकसन्दर्भमा आउछ । आलो= आउला भन्ने अर्थमा पनि प्रयोग भएको पाइन्छ । बैतडी र दार्चुलाको स्थानीय भाषामा “आSलो” भनेको आउला हो ।
आलो= खलो (आँगन) हो । स्थानीय भाषामा घर र देवस्थलको आँगनलाई “खलो” (पटकन) भनिन्छ । चैत्र महिनामा “रितुरानो”लोकगीत घरआँगनमा गाइन्छ । रितुरानो लोकगायक दमाई, औजी आदिले पारम्परिक रुपमा गाउछन् । रितुरानोमा ऐतिहासिक, पौराणिक र धार्मिक गाथामा आधारित लोककाव्य गाइने गरिन्छ । लोकगीतमा वसन्त ऋतुको महिमा, कालीनागको गाथा, रानादेउ, राम शाही, लाला द्यौवा, श्रीकृष्ण, सीता, स्थान विशेषका देवदेवता र वीरगाथा गाइन्छन् ।
भिटौलो वा चैतालो साँस्कृतिक प्रथा हो ।विवाहित छोरीचेलीलाई माइती (दाइ, भाइ, बुवा, आमा)ले अनिवार्य भेट्ने गर्छन् । तर लोकगीत र लोककथाकोअधिकांश प्रसङ्गमा भाइ र आमा (इज्या/इजु)आउने गर्छ । चैत महिनाले भाइबैनीको अमर प्रेमलाई देखाउछ । विवाह भएको पहिलो वर्ष र माइती वा पोइली मध्ये कुनै एक घरमा मृत्यु भएको वर्षदिननभएमा चैतालो दिइदैन ।
चैतालो सम्बन्धी भनिने र गाइने लोककथा र लोकगीतहरु विरहीपूर्ण छन् । वसन्तोत्सव आफैमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुन्छ । वसन्त ऋतुको रङ्गीचङ्गी वातावरणमा भाइको आवागमन र विछोडिनुको पिर, चैतमा गाइने रितुरानोको विरही प्रसङ्ग, वनपाखामा सुनिने कोयली र न्याउलीको व्यथापूर्ण करुण भाकाले उदासी र रुडिभाडीको महिनाको रुपमा चित्रण गर्छन् । माइतीको प्रतिक्षामा बसेकी चेली व्यग्र छटपटाहटमा हुन्छिन् ।
विक्रम सम्वत अनुसार चैत्र वर्षको अन्तिम र बाह्रौ महिना हो । धार्मिक विश्वास अनुसार सृष्टिका रचयिता ब्रह्माले चैत्र महिनाको शुक्ल प्रतिपदादेखि सृष्टिको प्रारम्भ गरेका थिए । जसलाई सतयुगको शुरुवात मानिन्छ । पौराणिक मान्यता अनुसार चैत्रको प्रतिपदामा भगवान विष्णुका दशावतार मध्ये पहिलो अवतार मत्स्यावतार पृथ्वीमा अवतरित भएको थियो । जल प्रलय भएपछि नयाँ सृष्टिकोपहिलो मानिस मनुलाई मानसखण्डमा सुरक्षित अवतरण गरिएको थियो । त्यसपछि नयाँ सृष्टि प्रारम्भ भएको थियो ।
विक्रम सम्वत अनुसार वर्षको अन्तिम महिना चैत्र हो । चैत्र महिना ग्रेगोरियन क्यालेन्डरको मार्च-अप्रिलमा पर्दछ। चैत्र शुक्ल पक्षको पहिलो तिथि (प्रतिपदा) बाट हिन्दू नयाँ वर्ष सुरु हुन्छ । हिन्दू धार्मिक कलेन्डरमा महिनाको नामकरण नक्षत्र अनुसार हुन्छ । चन्द्रमाको चक्र अनुसार महिना परिवर्तन हुन्छन् । जुन नक्षत्रमा चन्द्रमा हुन्छ महिनाको नाम सोही नक्षत्रको आधारमा राखिन्छ ।
बैतडी र दार्चुलामा चैत महिनाको साँस्कृतिक महत्व छ । दमाई वा औजीले चैत महिनाको १ गतेदेखि चैत्र मसान्तसम्म घरघरमा गइ हुड्को बजार चैत गाउछन् । जसलाई रितुरानो भनिन्छ। चैतका अनेकन प्रसङ्गले ऐतिहासिक गाथा उद्धरण हुन्छन्। चैत गाउनेलाई मान, सम्मान र उपहार स्वरुप थालमा अबीर टिका, अन्नादी, रुपियाँ राखेर दिइन्छ । चैत गाउँदा युगल जोडी (महिला-पूरुष) ले सँगसँगै गाउछन् । पूरुषले हुड्को बजाएर गाथा गाएपछि महिलाले भाका पछ्याएर साथ दिन्छिन् । गीतको लयसँगै बीच बीचमा लोककथाको प्रसङ्ग आउछ । रितुरानोको प्रसङ्गले वसन्त ऋतुको बखान, दाजुभाइले दिदीबहिनीलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा उल्लेख गर्छन् ।
रितुरानो/चैतःरितुरानो वा चैत मानसखण्डको साँस्कृतिक लोकगीत हो । वसन्त ऋतुको आगमनमा गाइन्छ । चैत महिनामा गाइने हुँदा चैत/चैइती/चैतुआ आदि भनिन्छ । गीतमा भाइबहिनीको प्रेमप्रसङ्गको वर्णन पाइन्छ । धेरै दिनसम्म माइती नदेख्दा भाव विह्रल छोरीले माइतीको सम्झनामा विलौना गरेको हुन्छ । रितुरानो गीतमा गोरीधानाविवाह भै धेरै टाढा कालीनागसँग बस्छिन् । गोरीधानाको विवाह भएपछि उसको भाइ जन्मिन्छ । भाइसँग भेट भएको हुँदैन । धौनी मौनीग्वालाहरुले दिदी बैनी नभएको भन्दै हेला गरेपछि सदेउले इजासँग दिदीबैनी नभएकाले मेरो बेइज्जत भएको प्रसङ्ग कोट्याएपछि गोरीधानाको बारेमा जानकारी पाउछ । बाह्रवर्षसम्म चैतालो दिन नगएकोले बाह्रवटा घागरो-आङडो सिलाएर चैतालो लिएर दिदी भेट्न गएको प्रसङ्ग छ ।
जन्मेदेखि नदेखेको बाह्र वर्षे भाइलाई देखेपछि गोरीधाना भावविभोर हुँदै खुशी हुन्छिन् । केहीबेरसम्म आदली कुसली अलमल परी ढोग्न बिर्सेको प्रसङ्गलाई भागा (कालीनागकी बहिनी) ले मुद्दा बनाउछिन् । भागाले कालीनागको कान भर्छिन् । कुरा लगाउछिन् । सदेउसँगै माइती जाने खोजेकी गोरीधानालाई कालीनागले रोक्न खोज्छ । गोरीधानाले भाइसँग जाने जिद्दी गरेपछि विवाद चुलिन्छ । बैनीको कुरा पत्याएर उसले सदेउलाई मार्न खोज्छ । सदेउ र कालीनागका बीचमा युद्ध हुन्छ । युद्धमा दुबैजना मर्छन् । भाइ र पतिको वियोग खप्न नसकी गोरीधानाआत्महत्या गर्छिन् ।सोही प्रसङ्गलाई लिएर एउटा प्रख्यात भनाइ छ “अनाली कनालीमाइ फुलि गया तीता । निको गरे भागा नन्दु दुबै घर रिता ।”यहीँ घटनाको पृष्ठभूमिमा होला भाउजु र नन्दको सम्बन्धलाई कुटिल र कपटपूर्ण मानिन्छ । चैतको प्रसङ्गमा भागाको छुल्याहा बानीले दुबैतर्फ अपूर्णनीय क्षतिको प्रसङ्गले जोकोही भावविह्वल हुन्छन् । चैतमा अन्य अनेक प्रसङ्गमा महापूरूषको वीर गाथा गाइन्छ ।
छोरीलाई भेट्ने प्रचलनः बैतडी, दार्चुला र भारतको उत्तराखण्डमा समेत चैत्र महिनामा छोरीचेलीलाई चैतालो दिने प्रथा छ । डडेल्धुरा, डोटी, बाजुरा, बझाङ्ग, अछाम, हुम्ला, जुम्ला, कालिकोट आदि जिल्लामा छोरीचेलीलाई भेटने चेल्तिहार माध महिनामा मनाइन्छ ।
चैत र वैशाख वसन्त ऋतुका महिना हुन् । वनपाखाखेतबारीमा हरियाली आगमनभएको हुन्छ । चारैतिरको वातावरण आनन्द र उल्लासमय देखिन्छ । प्रकृति यौवनमा मदमस्त हुन्छिन् । पशुपन्छी एवं मानिसको प्रेमिल मुटु धड्किएको हुन्छ ।प्रकृतिश्रृङ्गारले सजिएकी हुन्छिन् । खेतखलियानमा तोरी पहेँलपुर फुलेको हुन्छन् । भमरा र माहुरीको भुन्भुनावटले फूलबारी सङ्गितमय हुन्छ । कोइलीको कुहुकुहु सुरिलो आवाजले वनपाखा सङ्गीतमय धुनमा लठ्ठिएका हुन्छन् । ढुकुरले फूलेको आरु र आँपको हाङ्गामा ढुकुर-ढुकुर गर्दै बास्दा माइती पर्खेर बसेकी छोरीको मन आकुल व्याकुल हुन्छ । घरआँगनको रुखको हाङ्गामा काग का का गर्दै पाहुना बोलाइ रहदाँ भाइ आउने आशले दिदीबहिनी बाटो हेर्छिन् । स्वयं प्रकृतिआफैमा मादकताले मदहोस हुँदा माइतीको बाटो हेर्दै बसेकी छोरीचेलीकोप्रतीक्षा लम्बिएको हुन्छ ।
मानसखण्ड अन्तर्गत चैतालो/भिटौला/चेल्तिरले साँस्कृतिक उद्देश्य बोकेको पर्व हो । प्राचीन कालमा भौगोलिक अवस्थाले भेट गर्न अत्यन्त कठिन थियो भन्ने विषयवस्तुलोकगीतबाट जानकारी पाइन्छ । मानसी जनजीवनकोभेषभुषा, रहन-सहन, परम्परा, कला, व्यवहार, ढङ्ग, नैतिक मूल्य र मान्यताचौतालो प्रथाले देखिन्छ ।
मानसी ग्रामीण वस्ति श्रममा आधारितसमाज हो । अहिलेसम्म संयुक्त परिवार प्रथा पाइन्छ । शहर बजारमा एकल परिवारको बाहुल्यता बढ्दै गएको छ । मानसी समाज धार्मिक नैतिकतामा आधारित छ । राज्यको न्याय भन्दा देवीदेवताको न्यायमा बढी विश्वास गर्दछन् । प्रत्येक जातजातिमा घात, फिराद र उचाइनो (शर्त सहितको कबुल) गर्ने परम्परा जीवन्त पाइन्छ । आधुनिक परिवर्तनले धामी कमाउने प्रथामा कमी आए पनि आस्था घटेको पाइदैन । सामाजिक मूल्य र मान्यताले जनजीवन नियन्त्रित छ । पुनर्जन्म, आत्मा-परमात्मा, पाप, पूण्य, धर्म र मोक्ष आदि आध्यात्मिक विश्वास यथावत कायम छ ।
चैतालोको निहुँमा प्रतिकूल भौगोलिक अवस्थामा बसेकी छोरीचेलीलाई हुने खाने माइतीले सक्दो सहयोग पुर्याउछन् । प्रायः मानिसको पेशा कृषि र पशुपालन भएको हुँदा बाह्रै महिना खेती किसानीमा व्यस्त रहनु पर्दछ । यातायातको अभावले धेरै टाढा घरजम गरेकी छोरीले वर्षौंसम्म माइतीघर जाने अवसर पाउदैन्थे । वर्षदिनमा एकपटक चैतालो दिने बहानामा भेटघाट हुन्थ्यो । भेटमा खाद्यपदार्थ, फलफूल र गोरसलगेर जाने प्रचलन थियो । मानसखण्डमा मनाइने प्रत्येक तिहार र पर्वका आ-आफ्नै लोककथा, दन्तकथाका प्रसङ्ग जोडिन्छन् ।
माइतीको प्रतिक्षामा बसेकी चेलीको व्यथा निम्न लोकगीतले स्पष्ट पार्दछः
क्याइ बासन्छै न्याउली चडि, चैतका छकला
सम्झनाले मुटु फुटि, मन हुन्छ पागला
चैतालो सम्झाउने विरही गीतहरु जनजीब्रोमा पाइन्छन् । वनपाखामा बुरूँज (लालीगुराँस) फुलेको प्रसङ्ग, चरीले काफल पाक्योभनेर सूचना दिने, कुहु कुहु चरीको वेदना, ढुकुर बास्दै गरेको दृश्य, वसन्तोत्सव हरियाली, कोपिला फूलेर ढकमक्क भएको परिवेश, गाउँ घरमा हुड्कोसँगै गाइने चैतगीतले संगीतमय प्रतिध्वनिले माइतिलाई नसम्झिने कमै होलान् । दिदीबहिनीमा भएका पीडाहरु वनपाखामा गाइने गीतबाट समेत प्रष्फुटित हुन्छन् ।
चैतालोको समयसीमाः विवाहित छोरीचेलीलाई भेट्न जाने समयसीमा चैत्र महिनाभर हुन्छ । चैत्र महिना कृषि कर्मका हिसाबले मध्यपहाडी भागमा खानलाउन पुग्नेमहिना हो । बेसीमा गहुँ, जौ, दलहन, उखु पेल्ने र तेलहन बाली भित्र्याइ सकिने समय हुन्छ । हिमाली भूभागमा बालीनाली वैशाखदेखि जेठसम्म पाक्दछ । गुड तथा गुडजन्य परिकार मिष्ठान्नको रुपमा लगिन्छ । जस्तैः खुदो, गुड (भेली), गज्या, लेच्याआदि । भुटेको गहुँ र मकै जाँतोमा पिसेर त्यसमा खुदो मिसाएर “बाडी”बनाएर लैजान्छन् । चिस्यानबाट बचाएर राखेमा बाडी महिनौं दिनसम्म भण्डारण गर्न सकिन्छ । पहिला पहिला चिनीको अभावमा गुड मिसाएर खजुरा, पिन्जरी, खीर, बाडी, कसार, सेल, पुवा आदि खाद्यपदार्थपकाइ लैजान्थे । चैतालोमा पुरी (भित्र मस्युटो राखेको), लउन, अर्सा, फिना, गोरस, फलफूल, वस्त्रादि एवं दक्षिणा दिने प्रचलन छ। चैतालो सामग्री निङला/बाँसको टोकरी (आजभोलि ब्याग)मा लैजाने गरिन्थ्यो ।
आजभोलिः आधुनिक युगमा चैतालो सामग्री सामाजिक परिवेश अनुसार परिवर्तन भएको छ ।पहिला जस्तो छोरीचेलीलाई भेट्न चैत्र महिना कुर्नु पर्ने बाध्यतालाई यातायात र सञ्चारले समाप्त गरेको छ । वैदेशिक रोजगारमा गएकाले सामाजिक सञ्जालमा भेट गर्छन् । परम्परागत खाद्य पदार्थको सट्टा फलफूल, मिष्ठान्न, कपडा, दक्षिणा आदि चैतालोमा दिने गरिन्छ । कार्य ब्यस्तताले भौतिक रुपमा उपस्थित हुन नसक्ने भाइहरुमोबाइल बैङ्किङ्ग मार्फत् पैशा पठाउनेको संख्या उल्लेख्य देखिन्छ । सामग्रीमा परिवर्तन भए पनि चैतालो दिने प्रथा कायम छ ।
चैतालोबाँड्ने प्रचलनःमाइतीले दिएको चैतालो छरछिमेकीलाई बाँडेपछि माइती घरमा सुख, समृद्धिभित्रिन्छ भन्ने लोकमान्यता छ। माइतबाट आएको कोसेली प्रत्येक घर-घरमा बाँडिन्छ । बाँडिचुडी खानेस्वभावले समाजवादी अवधारणाको झझल्को पाइन्छ । चैतालो पर्वले सामाजिक मूल्य र मान्यतासंस्थागत गर्दै आएको छ । मेलमिलापसँगै एकआपसमा सौहार्दपूर्ण सम्बन्ध कायमगरेको छ । मानवीयसभ्यता र संस्कृतिको सजीव उदाहरण चैतालो छ ।
चैतालोको सन्देशः प्राचीनकालमा मानिसको प्रमुख पेशाखेतीपाती र पशुपालन थियो । कृषि र पशुपालन जीविकोपार्जनको प्रमुख आधार थियो । विकट भौगोलिक क्षेत्रमा कृषि र पशुपालन पेशा कठिनश्रममा आधारित थियो । धनी र गरिबीको वर्गीकरणको आधार जग्गा-जमिन र पशुपालन थियो । कृषि र पशुपालनमा जनशक्ति जति भए पनि खपत हुन्थ्यो । बाह्रै महिना खेतीपाती र पशुपालनबाट फुर्सद पाउन गाह्रो हुन्थ्यो । यातायातका साधनको अभावले एकआपसमा भेट्न सहज थिएन् । रातदिन काम नगरी खान लाउन पाइने अवस्था थिएन ।
हिमाली क्षेत्रमा चैत्र महिनामा भोकमरी हुन्थ्यो । बेसी भूभागमा चैत्र महिनामा गहुँ, जौ, तेलहन, दलहन पाकेको अनाज छोरीलाई भेट्ने बहानामा सहयोग गर्ने बहाना थियो । हिमाली भेकमा पौष-माघमा बर्खेबाली भित्र्याउने समय भएकोले माघ महिना चेल्तिहार मनाउने प्रचलन चलेको देखिन्छ । गरीबीका कारण दिनदिनै मिठो मसिनो खान लाउन सकिदैन्थ्यो । चैतालोमा ल्याइने वा दिइने खाद्य सामग्री घी र तेलमा पकाइने हुँदा धेरै लामो समयसम्म भण्डारण गरी खान सकिने प्रकृतिको हुन्छ । चैतालो पर्वको माध्यमले माइतीले सक्दो सहयोग गर्ने प्रचलन उहिलेदेखिको हो । भिटौला संस्कृतिले सहयोगसँगै सुखदुःख साँट्ने र आशीर्वाद दिने गरिन्छ ।
चैतालो मानसखण्डको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेकोछ । किंम्बदन्ति, लोकगीत, लोककथा, रितुरानो (फाग) आदिले यो पर्व प्राचीनकालदेखि चलिआएको पुष्टि गर्दछ । पर्वले मानवीय आवश्यकताको परिपूर्तिसँगसँगै सामाजिक सद्भाव र व्यक्तिलाईसामाजीकरण गर्ने प्रेरणादिएको छ । माइतीको आर्थिक अवस्था जस्तो सुकै भए पनि माया र सद्भावको कोसेली दिनै पर्ने बाध्यकारी व्यवस्थाले चैतालो संस्कृतिको अभिन्न अङ्ग बनेको छ । सामाजिक आचारसंहिता र सामाजिक नैतिकताको योग चैतालोमा पाइन्छ । भाइबैनीको मात्र होइन माइती र ससुरालीको एकता, माया, प्रेमलाई शक्तिशाली र सर्वोपरी मान्यताले बाँधेको छ।
मानसी समाजले चैतालो मार्फत् भाइबैनीको प्रेम, स्नेह, सद्भाव र सहयोगको अटुट बन्धनलाई बलियो बनाउदैविशिष्ठ पद्धतिको विकास गरेको छ । आधुनिक वैश्विक परिवेशमा परम्परालाई श्रद्धाभावका साथ मनाइन्छ । चैतालो माइती र पोइली पक्षको सम्बन्ध जोड्ने पुलको रुपमा विकसित भएको छ । यसर्थ भन्न सकिन्छ कि चैतालो संस्कृति अनेकतामा एकताको आधार हो ।आधुनिक युगमा संस्कृतिको क्षेत्रको सीमा निर्धारण गर्ने कार्य अत्यन्त कठिन हुँदै गएको छ । यातायात एवं सञ्चारका साधनहरुको विकास र विस्तारले भौगोलिक सीमा छोट्याएको छ । संसारका मानिसको अन्तरघुलनले विश्वमा अनेक सांस्कृतिक तत्व जन्मिन थालेका छन् । संसारभर फैलिदै गइरहेको सांस्कृतिक क्षेत्रको अवस्थाका बारेमा अध्ययन हुनु आवश्यक छ ।
