
स्ववियु चुनावमा पनि गठबन्धन विफल
विद्यार्थी नेता विष्ट भन्छन्– यो गठबन्धनप्रतिको असन्तुष्टिको नतिजा हो

महेन्द्रनगर । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा गठबन्धन गरिएका क्याम्पसमा विद्यार्थी संगठनले पराजय व्यहारेका छन् । आइतबार भएको निर्वाचनमा तीन क्याम्पसमा विद्यार्थी संगठनबीच गठबन्धन गरिएको थियो ।
शुक्लाफाँटा नगरपालिकाको कृष्ण बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस र कृष्णपुरको कञ्चन बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले गठबन्धन गरी चुनाव लडेका थिए । ती तीनै क्याम्पसमा गठबन्धन गरी चुनाव लडेका संगठन हारेका हुन् ।

गठबन्धन विरुद्ध एक्लै चुनाव लडेको विद्यार्थी संगठनले जित हात पारेको छ । कृष्ण बैजनाथमा नेपाल विद्यार्थी संघ, कञ्चन बहुमुखीमा अनेरास्ववियु र जनता बहुमुखी क्याम्समा अखिल क्रान्तिकारी विजयी भएको हो ।
कृष्णपुर बहुमुखीमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच गठबन्धन भएको थियो । ती दुबै गठबन्धन पराजित गरी नेपाल विद्यार्थी संघका कृष्णराज जोशी स्ववियु सभापति भएका छन् ।
कञ्चन बहुमुखी क्याम्पसमा अनेरास्ववियुका देब बहादुर साउँद सभापति निर्वाचित भएका छन् । कञ्चनमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच गठबन्धन भएको थियो ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भागबण्डामा सहमति भई सकेपछि अन्तिममा गठबन्धन भत्किएको थियो । नेपाल विद्यार्थी संघले चुनाव जित्न क्रान्तिकारीलाई अन्तिममा आफ्नो गठबन्धन पारेको थियो ।

नेवि संघ र क्रान्तिकारी गठबन्धन बनाएर चुनाव लडेपछि स्ववियु सभापतिमा पराजित भएका छन् । अनेरास्ववियुका साउँद सभापति निर्वाचित भएका हुन् ।
पुनर्वासको जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघको गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका मनोज साउँद सभापति निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष विरेन्द्र राज विष्टले आम निर्वाचनमा जसरी स्ववियु निर्वाचनमा पनि गठबन्धन सफल नभएको हुन नसकेको बताए ।
‘आम चुनाव जस्तै यसमा गठबन्धन सफल भएको देखिएन, गठबन्धन कसैले रुचाएको देखिएन, यसको कारण सबैमा गठबन्धनप्रति असन्तुष्टि नै हो’ उनले भने,‘चुनाव भन्ने विचार, एजेण्डाले जित्ने कुरा हो भन्ने देखियो, गठबन्धन बनाएर पनि जित्न सकिने रहेनछ भन्ने देखियो ।’
आइतबार कञ्चनपुरका आधा दर्जन क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । स्ववियु निर्वाचन १६ क्याम्पसमा घोषणा गरिएको थियो । ती मध्ये जिमुवाको दानेश्वर हरि क्याम्पसमा निर्विरोध बाहेक अन्य ९ क्याम्पसमा स्थगित भएको हो ।
चुनाव भएका ६ क्याम्पसमा नेवि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले समान दुई÷दुई क्याम्पसमा चुनाव जितेका छन् ।
बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा नेवि संघका नीरज भण्डारी निर्वाचित भएक छन् । बेलडाँडीको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडू र रामपुर बहुमुखी क्याम्पस कलकत्तामा अखिल क्रान्तिकारीका सरस्वती तिरुवा स्ववियु सभापति निर्वाचित भएका छन् ।
