
महेन्द्रागर । एमाले कञ्चनपुरले वेवास्ता गरेपछि नेता डा. भीम रावल आफैंले विभिन्न दलका नेतासित भेटघाट गरी समसामयिक विषयमा छलफल गरेका छन् । पारिवारिक कामका लागि महेन्द्रनगर आएका उनले आइतबार दिउँसो महेन्द्रनगरस्थित सिद्धार्थ होटलमा एमाले, समाजवादी सहित दलका नेतासित कार्यक्रम गरेका छन् । त्यसमा एमालेका नेता पूर्व उप सभामुख भोजराज जोशी समेत सहभागी भएका छन् ।
नेता रावल निकट नेताहरुका अनुसार शनिबार महेन्द्रनगर आएपछि उनले छलफलका लागि एमालेका जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवलाई आग्रह गरेका थिए । शनिबार केही प्रतिक्रिया नआएपछि आइतबार विहान पनि उनीहरलाई आग्रह गरिएको थियो ।

आइतबार विहान गरिएको आग्रह पनि वेवास्ता गरिएपछि नेता रावल आफैंले कार्यक्रम गरी छलफल गरेका छन् । उनले सिद्धार्थ होटलमा कार्यक्रम राखेको थाहा पाएर पनि केही नेता कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा सहभागी एमाले नेता नर बहादुर विश्वकर्माले एमाले जिल्ला कमिटीले रावलको आग्रह अनुसार कार्यक्रम गर्न नसक्ने अवस्था आएपछि होेटलमा कार्यक्रम गरिएको बताए ।
‘जिल्लालाई आग्रह गरिएको हो, त्यस अनुसार कार्यक्रम हुन सक्ने अवस्था नआएपछि होटेलमा गरिएको हो’ उनले भने,‘त्यस्तो कुनै राजनीतिक कार्यक्रम होइन, महेन्द्रनगर आएको बेला समसामयिक विषयमा भेटघाट र छलफल मात्रै गरिएको हो ।’
एमालेको १० औं महाधिवेशनमा विश्वकर्मा रावलको टीमबाट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसित अध्यक्षमा चुनाव लडेका थिए ।
कार्यक्रममा सहभागी नेताहरुमध्ये अधिकाँश नेता तत्कालिन माधव नेपाल समूहका छन् । समाजवादीका केन्द्रीय सदस्य प्रकाश रावल कार्यक्रममा सहभागी भएका छन् । उनी रावलका भाई पर्छन् । एमाले विभाजनपछि केन्द्रीय सदस्य रावलले पनि उनको साथ छाडेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट नदिएपछि रावलको राजनीतिक भविष्यलाई लिएर विभिन्न अड्कलबाजी हुने गरेका छन् । उनी आफैं भने एमालेलाई नछाड्ने उद्घोष गर्दै हिँडेका छन् ।
एमालेको नवौ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित रावल अध्यक्ष ओलीका कट्टर आलोचकका रुपमा परिचित छन् । एमाले अध्यक्ष ओलीका कट्टर समर्थक निरुदेवी पाल एमालेको कञ्चनपुर इन्चार्ज छन् । त्यस बाहेक अध्यक्ष सुरेन्द्र विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट सबै अध्यक्ष ओलीका समर्थक छन् ।
कार्यक्रममा नेता रावलले संविधान मिचिने चिन्ताले अहिले पनि कार्यान्वयमा चुनौती रहेको र त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको उल्लेख गरे ।
कार्यक्रममा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज प्रकाश बहादुर रावल, एमाले नेता नर बहादुर विश्वकर्मा, भोजराज जोशी, मोहन रावल लगायतका नेता सहभागी भएका छन् ।
