
महेन्द्रागर । एमालेभित्र भूमिका विहीन बनाइएका पूर्व उप सभामुख भोजराज जोशी आइतबार नेता डा. भीम रावलको कार्यक्रममा सहभागी भएका छन् । सिद्धार्थ होटेलमा नेता रावलले आयोजना गरेको एमाले सहित विभिन्न राजनीतिक दलका नेतासितको भेटघाटमा जोशी रावलसंगै कुर्सीमा बसेका छन् ।
एमालेको अनुशासन आयोगका पूर्व सदस्य जोशी अध्यक्ष केपी शर्मा ओलीको समर्थक नेताका रुपमा परिचित छन् । उनी आइतबार अध्यक्ष ओलीका कट्टर विरोधी रावलसित देखिएका छन् । जोशी एमालेभित्र नेता रावलझैं जिम्मेवारी विहीन बनाइएका छन् ।

एमाले विभाजन भएर अध्यक्ष ओलीले नेतृत्व लिएपछि जोशी पार्टीभित्र भूमिका विहीन छन् । पार्टीभित्र भूमिका नभएपछि उनले अध्यक्ष ओलीका कट्टर विरोधी रावलसित बसेर साँकेतिक असन्तुष्टि पोखेका छन् ।
एमालेका पूराना नेता जोशी २०५१ को मध्यावधि निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि मन्त्रीसम्म भएका उनी १० औं महाधिवेशन अघिसम्म एमालेमा अनुशासन आयोग सदस्य थिए । एमालेमा बामदेब गौतम निकट नेताका रुपमा चिनिएका नेता हुन् । गौतमले एमाले छाडेपछि जोशी पार्टीभित्र जिम्मेवारी विहीन बन्न पुगेका छन् ।
एमाले विभाजनपछि पार्टीभित्र अधिकाँश पूराना जिम्मेवारी विहीन बनाइएका छन् । एमालेका निवर्तमान उपाध्यक्ष रावल आफैं पार्टीमा भूमिका विहीन भएर बसेका छन् ।
अछामबाट सर्वसम्मत सिफारिश गरिएको प्रतिनिधि सभा सदस्यको टिकट पनि अध्यक्ष ओलीले खोसि दिएका थिए । त्यसपछि पनि उनी एमालेमा बसेका छन् ।
शनिबार महेन्द्रनगर आएका उनले कार्यक्रमका लागि एमाले जिल्ला कमिटीलाई आग्रह गर्दा पनि अस्वीकार गरिएको छ ।
एमाले जिल्ला कमिटीले चासो नदेखाएपछि उनी आफैंले विभिन्न दलका नेतासित भेटघाट गरी समसामयिक विषयमा छलफल गरेका छन् ।
पारिवारिक कामका लागि महेन्द्रनगर आएका उनले गरेको कार्यक्रममा एमाले र समाजवादीका नेता कार्यकर्ता सहभागी भएका छन् ।
